बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा

हिमाल प्रेस ८ असोज २०८२ १७:०१ | Wednesday, September 24, 2025
2
SHARE
बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्।

नेसपा नयाँ शक्ति गण्डकी प्रदेश संयोजक नेत्र चापागाईँले हिमालप्रेससँग भने, ‘डा. बाबुराम भट्टराईले नेसपा नयाँ शक्तिको आजको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभयो।’ उनका अनुसार नेसपा नयाँ शक्तिले विशेष महाधिवेशन गर्ने पार्टीको दोस्रो वरीयतामा रहेकी दुर्गा सोबको नेतृत्वमा विशेष महाधिवेशन गर्ने आयोजक समिति बनाइनेछ। ‘भट्टराईचाहिँ  बदलिएको परिवेशमा जेनजी पुस्तासहितको वैकल्पिक राजनीतिको ध्रुवीकरणका निम्ति देशव्यापी रूपमा अभियानमा निस्कने भएका छन्।’

जेनजी पुस्ताले गरेको आन्दोलनले राजनीतिक नेतृत्व परिवर्तनको माग गरेको थियो। सोहीअनुसार डा. भट्टराईले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेको नेता चापागाईँले बताए। जेनजी आन्दोलनपछि पार्टीबाट पद त्यागेको घोषणा गर्ने भट्टराई पहिलो अध्यक्ष हुन्।

तत्कालीन नेकपा माओवादीले थालको ‘जनयुद्ध’ का एक कमान्डर बाबुरामले २०७२ मा संविधान जारी भएपछि माओवादी पार्टी परित्याग गरेका थिए। एक दशकदेखि नयाँ शक्ति अभियानमा लागेका उनी सुशीला कार्की नेतृत्वको निर्दलीय सरकारलाई समर्थन गर्ने एकमात्र पूर्वप्रधानमन्त्री हुन्। जेनजी युवाकै मागअनुसार कार्की प्रधानमन्त्री नियुक्त भएकी छन्।

प्रकाशित: ८ असोज २०८२ १७:०१ | Wednesday, September 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast