चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरियो

हिमाल प्रेस ७ असोज २०८२ १०:२५
4
SHARES
चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिंगो फेरियो

जुम्ला- कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको नयाँ लिंगो घटस्थापनाको दिन पारेर फेरिएको छ।

सदरमुकाम खलंगा बजारमा रहेको सो मन्दिरको ५२ हातको नयाँ लिंगो फेरिएको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए।

हरेक वर्ष घटस्थापनाका दिन फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिंगो फेरिएको हो। मन्दिरमा लिंगो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ-आफ्ना घरमा घटस्थापना गर्दछन्। चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो र ५२ हाते ध्वजा राखिएको हुन्छ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिंगो र ४८ हातकै ध्वजा राख्ने चलन छ। वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिंगोसहित ध्वजा राख्ने प्रचलन रहेको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए।

मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गरेका छन्। धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गरिन्छ।

लिंगो फेरेसँगै चन्दननाथ-भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा छ। जसले मार्सीधानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ। दशक अघिसम्म लिंगो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो।

जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखी लगायतका सामग्री ल्याउने चलन थियो।

अहिले यो परम्परा लोप भएको चन्दननाथ-भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यको भनाइ छ। रासस

प्रकाशित: ७ असोज २०८२ १०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast