देउवामा अझै पदको भोक, अस्पतालबाट कांग्रेस नेता अलमल्याउँदै आरजु

हिमाल प्रेस ६ असोज २०८२ २०:१८
देउवामा अझै पदको भोक, अस्पतालबाट कांग्रेस नेता अलमल्याउँदै आरजु

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले पार्टी सभापतिका आकांक्षा राखेका सबै नेतालाई फोन गरेर ‘अबको सभापति तपाईँ नै हो’ भन्न थालेपछि पार्टीमा तरंग उत्पन्न भएको छ। आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन्। जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमै आक्रमणमा परी घाइते भएका देउवा दम्पती नेपाली सेनाको संरक्षणमा उपचार गराइरहेका छन्।

आरजुले कांग्रेसका वयोवृद्ध नेता गोपालमान श्रेष्ठलगायतलाई देउवाको फोनबाट उहाँपछि तपाईँ नै उत्तराधिकारी हो, केही समय पर्खनुस् भनेपछि नेतृत्व पुस्तान्तरणबारे बहस चलाइरहेका नेताहरू आश्चर्यमा परेका हुन्। विशेष महाधिवेशन भएमा पद गुम्ने भयका कारण सभापति देउवा र पत्नी आरजुले अस्पतालबाटै सक्रियता बढाएको कांग्रेसका जानकारहरू बताउँछन्। आरुजले सभापति देउवाको फोनबाट विशेष महाधिवेशन आवश्यक छैन भनेर कांग्रेस नेताहरूलाई निर्देशन पनि दिन थालेको नेताहरूको दाबी छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण दलहरूले सत्ता र संसद् दुवै गुमाएका छन्। यसमा सबैभन्दा बढी क्षति देउवालाई भएको जानकारहरू बताउँछन्। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीपछिको ‘रोलक्रम’ मा थिए। सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग रातारात कुम जोडेर त्यस्तै सम्झौता गरेका थिए। आफू प्रधानमन्त्री बन्न लागेका बेला देउवाले संसद् मात्रै गुमाएका छैनन्, घाइते भएर अस्पतालमा उपचार गराइरहनुपरेको अवस्था छ। यद्यपि देउवा तत्काल सभापति पद छाड्ने तयारीमा नरहेको निकट नेताहरू बताउँछन्।

आक्रमणकारीले देउवा दम्पतीको घरमात्र जलाएनन् उनीहरूलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए। घरबाट आन्दोलनकारीले पैसा र महँगा रक्सीका बोतल लगेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएका छन्। केन्द्रीय सदस्य आरजु त्यस्ता भिडियो ‘फेक’ भन्दै बचाउमा लागिपरेकी छन्।

सुरक्षाकर्मी र केही आन्दोलनकारीको साथ पाएर जीवन बचाउन सफल देउवा दम्पतीमा अझै पार्टीको नेतृत्वमा रहने लोभ देखिन्छ। आरजुको चुरीफुरी र दम्भ प्रधानमन्त्री ओलीको भन्दा कम थिएन। भुटानी शरणार्थी काण्ड छानबिन गर्न दिएको भए मुलुकमा अहिले यो अवस्था आउने थिएन। भ्रष्टाचार छानबिनसमेत गर्न नपाउने र नेताहरूले भनेको मान्न पर्ने अवस्था आएपछि युवा पुस्ता धेरै समयअघि देखि निराश भएका हुन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार देउवाको टाउकोमा धारिलो हतियार प्रहार भएको छ। त्यही कारण उनी राम्ररी हिँड्न सक्ने अवस्थामा छैनन्। तर पनि सभापतिकै रूपमा रहेर दललाई अघि बढाउने योजना उनीहरूको देखिन्छ।

उता महामन्त्री गगनकुमार थापा र विश्वकर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस सुरु थालेका छन्। केही नेताहरू सभापति देउवा दम्पती घाइते भएर अस्पतालमा उपचार गराइरहेको अवस्थामा बहस गर्न नहुने पक्षमा उभिएका छन्। उनीहरू विशेष महाधिवेशनका पक्षमा देखिएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर अहिले पार्टी संगठनका बारेमा कुनै बहस आवश्यक नरहेको बताएका छन्। देउवा निकट महतले भनेका छन्, ‘चार दिनअघिसम्म सभापति देउवासँग नजिक देखिनेहरू नै अहिले प्रश्न उठाइरहेका छन्। अभिभावकमाथि सांघातिक प्रहार भएको छ, कम्तीमा उपचार पूरा नहुँदासम्म पर्खिनुपर्छ।’

पार्टीमा अब पुराना पुस्ताले विश्राम लिए हुन्छ भन्ने युवा सक्रिय भइसकेका छन्। पार्टी हाँक्ने अवसर नपाएका वृद्ध नेताहरू नेतृत्वका लागि पहलकदमी लिन थालेका छन्। उनीहरू सभापति देउवाबाट कसरी नेतृत्व हत्याउने भन्ने योजनामा लागेको जानकारहरू बताउँछन्। मंसिरमा महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशन भन्नै पर्दैन। नियमित अधिवेशनकै समय आइसकेको छ। ‘यही बहस नभएर जे मन लाग्यो गर्दा अहिलेको अवस्था आएको हो। यसमा सच्चिन आवश्यक रहे पनि नेतृत्व पुरानै शैलीमा फर्किन लागेको छ, जुन दुःखद् छ’, पार्टीका एक पदाधिकारीले भने।

महाधिवेशन गरेर पार्टी नेतृत्व सहज रूपमा हस्तान्तरण गरेमा देउवा सम्मानित नेताका रूपमा रहन सक्छन्। तर उनले आफ्नो पत्नीको राजनीतिलाई ध्यानमा राखेर फोहोरी खेल खेल्न थालेमा कांग्रेसले हस्ताक्षरबाट अधिवेशनमा लैजाने र दुवैलाई अधिवेशनको बलबाट गलहत्त्याउने अवस्था आउन सक्ने एक नेताले बताए।

केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने सम्भावना छैन। अर्का एक नेताले भने, ‘त्यस्तो अवस्थामा नेतृत्वले खेल्न थाल्यो भने पार्टी फेरि मुलुक र नागरिकभन्दा आफ्नो परिवार र शक्तिमा लीन भएको नेताका पोल्टामा जाने देखिन्छ।’ त्यसो त युवा पुस्ता हस्ताक्षर अभियान चलाएर भए पनि अधिवेशन गराउने तयारीमा जुटेका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउन नेतत्व बाध्य हुने कांग्रेस विधानमा उल्लेख छ।

महामन्त्री थापाले भिडियो सन्देश दिँदै आत्मालोचना गरिरहेका छन्। उनले भ्रष्टाचार अन्त्य, सुशासन र नेतृत्व परिवर्तनको कुरा उठाए पनि सफल हुन नसकेको भदै आमनागरिकको साथ मागेका छन्। ‘हामीले सही कुरा उठायौँ तर टुंगोमा पुर्‍याउन सकेनौँ, त्यही हाम्रो सबभन्दा ठूलो कमजोरी भयो। तर अब छाड्दैनौँ,’ थापाले भनका छन्।

महामन्त्री थापाले ०४६ सालयता सरकारी निकायमा जोडिएका सबैको सम्पत्ति छानबिन आवश्यक रहेको भनेर संसद्मा पनि आवाज उठाउँदै आएका थिए। मुलुकमा उत्पन्न उथलपुथलका कारण कांग्रेस पार्टी यसै राखेमा युवाहरूमा जान कठिन हुने बुझाइ महामन्त्री थापाको छ। उनले आन्दोलनको भावना बुझ्न नसके पछि परिने बताएका छन्। ‘पार्टीको रूपान्तरण र परिवर्तन नगरी अब युवाको भावनालाई समेट्न सम्भव छैन। अब गर्ने भनेको पार्टीको व्यापक पुनर्गठनका लागि महाधिवेशन हो। हामीसँग अरू विकल्प छैन,’ उनले भनेका छन्।

कार्य सम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशन कुरा उठाएका छैनन्। उनले अधिवेशनको विषयमा छलफल गर्ने बेला होइन भन्नुले पनि दलमा सुधार नहुने देखिन्छ।

आरजुले अहिले सभापतिको आकांक्षा राखेका सबैजसो नेतालाई फोन गरेर सघाउन भनिरहेको र सबैलाई तपाईँ नै उत्तराधिकारी हो भन्न थालेपछि देउवा पुस्ताका नेता पनि सचेत हुन थालेका छन्। एकजना पाका नेताले भने, ‘आरजु सबैलाई एउटै पद दिन्छु भन्ने आश्वासन दिएर दललाई यही अवस्थामा राख्ने प्रयत्नमा रहेको देखिन्छ। उनलाई भुटानी शरणार्थी प्रकरणबाट कसरी बच्न सकिएला भन्ने त्रास छ।’

प्रकाशित: ६ असोज २०८२ २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast