
बेइजिङ – नेपाल र चीनको सम्बन्धलाई बुझाउने ‘सुमधुर सम्बन्धका ७० साल’ नामक पुस्तक चीनमा विमोचन गरिएको छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा शनिबार चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली तथा नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
नेपाल र चीनबीच सन् १९५५ अगस्त १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर पुस्तक प्रकाशित गरिए तापनि विमोचन भने सर्वप्रथम चीनमा गरिएको हो।
पुस्तक प्रकाशक संस्था, नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले यो वर्षभरि नै ७० औँ वर्षगाँठ मनाइरहेको अवसर भएकोले सर्वप्रथम बेइजिङमा नै पुस्तक विमोचन गरिएको बताए। यसपछि नेपालमा विमोचन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित पुस्तकमा विगत सात दशकको दुई असल छिमेकी देश नेपाल चीनबीचको बहुआयमिक सम्बन्धलाई १२ वटा विषय सूचीमा लिपिबद्ध गरिएको छ। साथै, नेपाल चीनबीचका आदानप्रदान र विविध सहयोगका दुर्लभ तस्बिर र तथ्यांक पनि पुस्तकमा समावेश छ।
पुस्तकमा राजा महेन्द्रदेखि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सन्दर्भ समेटिएको छ।
त्यस्तै पुस्तकमा दुई देशबीच दौत्य सम्बन्ध कायम गर्नका लागि दुवै देशका प्रतिनिधिबीच भएका वार्ता, नेपाल राष्ट्र बैंकको स्थापनामा चीनले पुर्याएको सहयोग, भ्रमण आदानप्रदानका विषयहरू छन्।
उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीन–नेपालबीचको सदाबहार सम्बन्धको चर्चा गर्दै दुई देशबीचको सम्बन्धमा यो पुस्तक कोशेढुङ्गा बनेको बताए।
पुस्तक चीन नेपालबीच भएका आदानप्रदान र सहयोगको दस्तावेज भएको पनि औँल्याए। साथै, नेपाल चीन मिडिया फोरम तथा अध्यक्ष किशोर श्रेष्ठलाई नेपाल र चीन बीचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकोमा आभार पनि व्यक्त गरे।
यसैगरी, नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले साथी फेर्न सकिने तर छिमेकी बदल्न नसकिने भन्दै छिमेकीको रूपमा चीन पाउनु वरदानसरह भएको सुनाए। अध्यक्ष श्रेष्ठले पुस्तकमार्फत नेपालचीन सम्बन्धका विविध आयाम अनि ७० वर्षका मीठा क्षणलाई स्मरण गरिएको बताए। चीनमा आएर विमोचन गर्न पाउनु पनि पुस्तक प्रकाशनमा सफलता मिलेको औँल्याए।
कार्यक्रममा ५० भन्दा बढी चिनियाँ शुभचिन्तक, चिनियाँ थिङ्कट्याङ्क तथा उद्यमीहरूको उपस्थिति थियो। नेपाल चीन सम्बन्ध र विमोचित पुस्तकबारेमा कन्फ्युशियस इन्स्टिच्यूटका छिउ क्वोमिङ, स्यामन विश्वविद्यालयका प्रोफेसर च्याङ स्याओस्येन, अन्तर्राष्ट्रिय अर्थतन्त्र, व्यापार र सांस्कृतिक सहकार्यका लागि यूननान केन्द्रका उपमहासचिव रन चकाङले आ–आफ्नो मन्तव्य राखेका थिए।
वक्ताहरूले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी हुने बताउँदै नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले दुवै देशका पाठकलाई अझै सहज भएको औँल्याए।
कार्यक्रमको अन्त्यमा सीजीटीएन नेपाली सेवा (पुरानो नाम सीआरआई नेपाली सेवा) का पूर्व कर्मचारी ८० वर्षीय सुहाउले चीन नेपाल सम्बन्ध सँगसँगै आफ्नो अनुभव सुनाउनुबाहेक चिनियाँ र नेपाली दाजुभाइ, दिदीबहिनी हुन् भन्ने भावको नेपाली गीत गाएर विमोचन कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए।