लोकतन्त्रको टीका लगाएको घर, अराजकहरूको निशानामा परेपछि…

कोइराला निवासको अन्तर्ध्वनि : फाटेको भोटोदेखि, जलेको भित्तासम्म

विवेक विवश रेग्मी ४ असोज २०८२ १९:३८
58
SHARES
लोकतन्त्रको टीका लगाएको घर, अराजकहरूको निशानामा परेपछि…

इटहरी- अरू बिहान विराटनगरस्थित कोइराला निवासमा कार्यकर्ताको लर्को हुन्थ्यो। डा. शेखर कोइरालालाई भेट गर्न, राजनीतिक गफ गर्न अधिकांश मानिसहरूको भीड नै लाग्थ्यो। नेपाली कांग्रेसमा इतर समूहको नेतृत्व गरेका शेखर १५ औँ महाधिवेशनमा सभापतिको रूपमासमेत रुचाइएका नेता हुन्। तर, एक सय २० वर्षभन्दा पुरानो कोइराला निवासमा २४ भदौमा आगजनी भएपछि घरमा उज्यालो बलेको छैन।

शनिबार बिहान कोइराला निवासमा देखिएको दृश्यले उपस्थित मानिसहरूलाई भावुकमात्रै बनाएन, पुनः इतिहासको स्मरण गर्ने अवस्था बन्यो। अन्य समयमा उज्यालो सपना बोकेर आउनेहरू शनिबार भने कोइराला निवासको आँगनमा निराश देखिन्थे। आगजनीले जलेर खरानी भएको त्यो घरमा इतिहास बोलिरहेको थियो, जलेको भित्ताबाट, चिरिएको काठबाट र छोपिएको हृदयबाट।

डा. शेखर आफ्नै जलेको निवास अगाडि उभिँदा, त्यो क्षण उनको पीडामात्रै होइन, नेपाली लोकतन्त्रको एक गहिरो चोट रहेको सन्देश दिइरहेका थिए। उत्तेजना र आवेगमा आएका केही अराजक समूहले आगजनी गर्दा क्षतविक्षत अवस्था बनेको उक्त घरबाट डा. शखेरले केही सन्देश दिए।

डा. शेखरले मात्रै उक्त घरमा समय व्यतित गरेनन्। कृष्णप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला (बीपी), मात्रिकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालासम्मले उक्त घरलाई आफ्नो राजनीतिक केन्द्रको रूपमा स्थापित गरे।

डा. शेखर जलेको घरको भित्तातर्फ हेर्दै केही सम्झिन खोजे। सायद उनले सम्झिए बालापन, सम्झिए आफ्नो राजनीतिक आस्थाको इतिहास, लोकतान्त्रिक आन्दोलनको इतिहास र सम्झिएको हुनुपर्छ थुप्रै स्मरणहरू। मानिसलाई गहिरो चोट परेपछि मौन बस्छ। डा. कोइराला पनि एकछिन मौन बसे।

कतिपय विश्लेषकहरूले कोइराला निवासलाई आम मानिसले गौरव गर्नुपर्ने बताउँछन्। कोइराला परिवारभित्रै पनि परिवारवादबाट माथि उठेर उक्त निवास र आफ्नो बिरासतलाई ‘घमण्डको रूपमा नभई गौरवको रूपमा लिनुपर्ने’ बताउँदै आएका थिए। अब इतिहास बोकेको घरको नामनिशान नरहँदा न गौरव गर्ने ठाउँ रह्यो, न घमण्ड नै।

‘म यहीँ जन्मिएँ, यही हुर्किएँ, यहीँबाट डाक्टर भएँ,’ भावुकभावमा डा. शेखरले भने, ‘यो घर केवल मेरो व्यक्तिगत सम्पत्ति थिएन, यो लोकतन्त्रकै धरोहर थियो। आज यो खरानी भयो, तर यहीँबाट फेरि उठ्छौँ।’

इतिहास बोकेको निवास देखेर विक्षिप्त बनेको शेखरले पुनः खरानीबाटै उठ्ने संकल्प गर्दै कार्यकर्तालाई सन्देश दिए। बोलिरहँदा उनी पटकपटक रोकिए। उनको भावनात्मक अभिव्यक्तिले छेउछाउको महोललाई नै स्तब्ध बनायो।
यो केवल एउटा घर थिएन। यो नेपाली राजनीतिक आन्दोलनको मन्दिर थियो।

कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई यहीँबाट ‘फाटेको भोटो’ पठाउँदै विद्रोहको स्वर फुकेका थिए। यहीँबाट मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद प्रधानमन्त्री बने। लोकतन्त्रको बिरूवा यहीँ रोपिएको थियो। आज त्यो बिरूवालाई जलाइयो।

‘यो मेरो मात्र होइन, लोकतन्त्रको घर हो,’ डा. शेखरका शब्दहरूले इतिहास स्मरण गर्‍यो, र इतिहासमाथि खरानी बनाउने प्रयास गर्नेहरूलाई पश्चाताप हुनेसमेत सन्देश दिए।

बीपी कोइरालाले नेपालमा लोकतन्त्रको स्थापनाका निम्ति इतिहासमै सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका थिए। बीपीलाई प्रथम जननिर्वाचित प्रधानमन्त्री भनेर मात्रै पुग्दैन। उनलाई कांग्रेस पार्टीको संस्थापक भनेर मात्रै न्याय हुँदैन। समाजवाद, लोकतन्त्र र राष्ट्रियताको स्तम्भ बीपी कुनै व्यक्ति होइनन्, विचार हुन्। बीपीको ‘राष्ट्रिय एकता र मेलमिलाप’ को नीति आज पनि उत्तिकै सान्दर्भिक छ।

त्यही विचारको स्तम्भ बोकेको घरबाट अब खरानीको टीका लगाएर पुनः उठ्ने डा. शेखरको सन्देश छ। कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो।
आगजनीका कारण जलेका कोठा, जहाँ बीपीले आत्मसमर्पण नभई मेलमिलापको बाटो रोजेका थिए। तिनै भित्ताहरू जहाँ गिरिजाप्रसादले संविधानको सपना बुनेका थिए।

ती सबै आज खरानी अवस्थामा देखेपछि भावुक बनेका डा. शेखरले भने, ‘यो घर लोकतन्त्रकै प्रतीक हो। यहाँबाट नै फेरि उठ्नेछौं। चुनाव यहीँ बसेर लड्छु।’

उनले यसअघि लोकतन्त्रको पर्यावाचीको रूपमा कोइराला निवास रहेको स्मरण गरे। उनले कार्यकर्तातिर हेर्दै भने, ‘कोइराला निवास किन जल्यो? यो लोकतन्त्रको पर्यावाचीको रूपमा कोइराला निवास थियो। कहिल्यै सोच्नुभएको थियो, तपाईँहरूले? आउनुभयो तपाईँहरू?’

उपस्थित पत्रकारहरूले भने, ‘हामी त आयौँ।’

डा. शेखरले जबाफमा भने, ‘हैन, हैन पत्रकारहरू आएको कुरा गरेको होइन मैले। सोच्नुस् त तपाईँहरू? यो घर भनेको शेखर कोइरालाको घर होइन, यो घर भनेको लोकतन्त्रको लागि सधैँ, राणाकालदेखि लडेको घर हो नि यो।’

उनी त्यतिमै रोकिएनन्। आँसुमिश्रित भावमा थपे, ‘यो घर भनेको कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो नि यो। यो घर जल्दै गर्दा तपाईँहरू कहाँ हुनुहुन्थ्यो? के गर्दै हुनुहुन्थ्यो भन्ने प्रश्न छ कि छैन? तर, समयले ठीक गर्छ।’

एक घर, जहाँबाट तीन प्रधानमन्त्री जन्मिए

विराटनगरको त्यो पुरानो घर केवल निवास मात्रै थिएन। नेपालको लोकतान्त्रिक इतिहासको सजीव संग्रहालय नै थियो। कृष्णप्रसाद कोइरालाले बनाएको त्यही घरबाट मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। तीन प्रधानमन्त्रीको उदय एउटा परिवारको गौरव होइन, नेपाली जनताको विश्वासको प्रतिनिधित्व थियो। यहीँबाट आन्दोलनका योजनाहरू बुन्दै राणाशासनविरुद्ध आवाज उठाइएको थियो। कोइराला निवासबाट निस्केको परिवर्तनको आवाजले नेपालको राजनीति मोडेको थियो।

कोठा मात्रै थपिएन, विचार बलियो बन्दै गयो

कृष्णप्रसादले बनाएको यो निवास समयसँगै ठूलो भवनमात्र भएन, विचार थप गहिरो र बलियो बन्दै गयो। जब मूल घर साँघुरो भयो, २०१४ सालको कांग्रेस विशेष महाधिवेशनअघि शेखरका पिता केशव कोइरालाले दुई कोठा थपे। निर्वासनबाट फर्केका बीपीका लागि थपिएको कोठा पछि बैठक कक्ष बन्यो। तर, मूल स्वरूप बिग्रिएन। ईंटा थपिए, तर विचारको गहिराइ झन् बढ्दै गयो। समयक्रममा राजनीतिभित्रको हलचल झल्कने प्रत्येक कोठा आज खरानीमा रूपान्तरण भए पनि तिनको भित्तामा टाँसिएको इतिहास अदृश्य भएन।

शेखरले त्यो घरलाई मात्र होइन, त्यसको इतिहासलाई पनि जोगाइरहेका थिए। जबसम्म अराजक आन्दोलनको आगोले त्यो सबै खरानी बनायो। तर घर जले पनि, त्यो जलेको भित्ताभित्रको राजनीतिक चेतना डा. शेखरका आँखामा, आवाजमा र संकल्पमा मात्रै होइन लोकतान्त्रिक आवाज उठाउने जनजनमा आज पनि बाँचेको छ।

जेनजी आन्दोलनको आगो : असन्तोष कि अराजकता?

भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा अराजक समूहले कोइराला निवास जलाएपछि, डा. शेखरले प्रतिप्रश्न गरे, ‘दुई दिनको आन्दोलनपछि तपाईंहरू पन्छिन सक्नुहुन्छ? माग के थिए? नेताको उमेरमाथि प्रश्न गर्दा मन्त्रिपरिषद्मा रहेकाको उमेर पनि हेर्नुपर्छ।’

उनका अनुसार युवापुस्ताको असन्तोषलाई अब आत्मसात गरेर अघि बढ्नुपर्नेछ।

आगजनीपछि कोइरला निवास

‘उनीहरूको मागलाई समयमै बुझ्न सकिएन। त्यो हाम्रो कमजोरी हो। तर आन्दोलनको नाममा इतिहास जलाउनु क्षम्य छैन,’ उनी भन्छन्, ‘‘संविधानलाई धेरै नचलाई न्यूनतम क्षति गरेर चुनावको घोषणा गरिएको छ। त्यो चुनाव हुन्छ भन्ने अपेक्षा लिएका छौं। सबै कुरा संविधानसम्मत हुँदैनन्। तर, राष्ट्रपतिज्यूले न्यूनतम क्षति गरेर चुनावको बाटो देखाउनुभयो।’

उनले वर्तमान सरकारको एकमात्र दायित्व निष्पक्ष निर्वाचन गराउनु रहेको स्पष्ट पारे। अब ६ महिनापछि चुनावको बाटोबाट देशलाई सही दिशामा लैजानुपर्ने उनको भनाइ छ।

र, जलेर क्षतविक्षत बनेको कोइराला निवासमा डा. शखेरको नजरले स्मरण गरिरहेको थियो – आफ्नो बाल्यकाल, आफ्नो बाबु केशव कोइरालाको समर्पण, बीपीको जीवनदर्शन, गिरिजाप्रसादको जनताको नजिकको नेतृत्व।

प्रकाशित: ४ असोज २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast