गाजा युद्धविराम प्रस्तावमा फेरि अमेरिकाको भिटो

हिमाल प्रेस ३ असोज २०८२ १५:४४ | Friday, September 19, 2025
गाजा युद्धविराम प्रस्तावमा फेरि अमेरिकाको भिटो

काठमाडौँ- अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा गाजामा तत्काल र स्थायी युद्धविराम तथा बन्धकहरूको शीघ्र रिहाइसम्बन्धी प्रस्तावलाई पुनः भिटो गरेको छ। यस प्रकारको प्रस्ताव रोक्न अमेरिकाले छैटौँपटक भिटो प्रयोग गरेको हो।

मध्यपूर्वका लागि अमेरिकी उपदूत मोर्गन और्टागसले प्रस्तावले हमासको पर्याप्त ढंगबाट निन्दा गर्न नसकेको बताइन्।

उनले भनिन्,‘प्रस्तावको वर्तमान पाठले हमासको पर्याप्त रूपमा निन्दा गर्न सकेको छैन र यसले इजरायललाई अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएको आत्मरक्षाको अधिकारलाई समेत स्वीकार गरेको छैन।’

सुरक्षा परिषद्का अन्य १४ सदस्य राष्ट्रहरूले भने प्रस्तावको पक्षमा मतदान गरेका छन्। प्रस्तावमा गाजाको अवस्थालाई ‘गम्भीर र विनाशकारी’ भनिएको छ र इजरायललाई सबै प्रकारका मानवीय सहायतामाथि लगाएको प्रतिबन्ध हटाउन आह्वान गरिएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघले गाजा सिटीमा अन्तिम जीवनरेखासमेत जोखिममा परेको चेतावनी दिएको छ। इजरायली सेनाले आफ्नै सैन्य अभियानलाई थप तीव्र पारेपछि संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो। इजरायलले स्थल सैन्य अभियान सुरू गरेपछि गाजा सहरबाट हजारौँ मानिस विस्थापित हुन बाध्य भएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गाजामा जारी इजरायली कारबाहीमा अहिलेसम्म ६५ हजार १४१ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: ३ असोज २०८२ १५:४४ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast