
काठमाडौँ- सभामुख देवराज घिमिरेले अन्तरिम सरकारको निर्णयमार्फत प्रतिनिधिसभा विघटन भएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभा विघटन नगरी त्यसमैबाट समाधान खोजिएको भए राम्रो हुने बताए।
सभामुख घिमिरेले जेनजी पुस्ताले अघि सारेको आन्दोलनको उद्देश्यलाई गम्भीरतापूर्वक अध्ययन गर्न आवश्यक रहेको बताउँदै मुलुकलाई मिलेर अघि बढाउनुपर्नेमा जोड दिए।
आन्दोलनका क्रममा मुलुकले व्यहोरेको क्षति दुःखदायी भएको भन्दै उनले सबै पक्ष एकताबद्ध भएर राष्ट्रलाई सही दिशामा लैजानुपर्ने धारणा राखे।
उनले भने,‘यो आन्दोलन के हो, किन गरिएको हो, त्यसबारे गहिरो अध्ययन आवश्यक छ। अहिले हामीले व्यहोरेको अवस्था दुःखदायी छ तर यसबाट उठेर ठिक ढंगले अघि बढ्नु सबैको दायित्व हो। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान खोजिएको भए अझ राम्रो हुने थियो।’
सभामुख घिमिरेले अन्तरिम सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको भन्दै त्यसलाई सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना पनि व्यक्त गरे।