सत्र वर्षपछि मुख्य भूमिकामा कामेश्वर चौरसिया

हिमाल प्रेस ५ असोज २०८२ १३:५४
8
SHARES
सत्र वर्षपछि मुख्य भूमिकामा कामेश्वर चौरसिया

काठमाडौँ- अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया। झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर पर्साबाट काठमाडौँ प्रवेश गरेका अभिनेता चौरासियाले मुख्य भूमिका पाउन सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो। फिल्म ‘अभिमन्युः च्याप्टर १’ मा उनले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाएका छन्। फिल्म यस वर्ष दसैँको फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुनेछ।

‘मैले सायद यसैको प्रतीक्षा गरिरहेको थिएँ। यो समयका लागि मैले धेरै मेहनत गरेको छु,’ अभिनेता चौरसियाले भने, ‘मधेसको कथामा फिल्म बनेकोले पनि निर्माण पक्षको रोजाइमा म परेँ, अब मैले गरेको संघर्षको फल पाउने बेला हो। मैले प्रयासले भ्याएसम्म पात्रलाई जीवन्त बनाएको छु।’

बाल्यकालदेखि नै फिल्म हेर्ने उनी पछि कलाकार बनेर ठूलो पर्दामा देखिने सपना लिएर काठमाडौँ आए। चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नुपर्‍यो। ‘मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो। मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो। म नेपालमा नै केही गर्न चाहन्थेँ। त्यसैले आफ्नो शैक्षिक प्रमाणपत्र फालेँ। त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन सकेन’, उनले भने।

चौरसियाले काठमाडौँ मात्र नभई भारतको नयाँ दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गरे। उनको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो।

२०७२ सालको वैशाखमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उनको चर्चा भयो। त्यसताका फिल्म प्रदर्शन भएको दोस्रो दिनमा भूकम्प आएपछि प्रदर्शन रोकियो। बनिसकेको वातावरण बिथोलियो।

त्यसपछि पुनः फिल्म प्रदर्शन भयो। त्यसबाट उनको अभिनय कलाबारे धेरैले थाहा पाए। ‘त्यसपछि अन्य फिल्ममा अभिनयका लागि प्रस्ताव आउन थाल्यो। मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए। म मुख्य अभिनेता बन्न चाहन्थेँ, केही फरक गर्न चाहन्थेँ। मैले केही फिल्मकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो। अनि त मैले काम पाउनै छाडेँ, अभिनेता चौरसियाले भने।

चौरसियाले केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसायसमेत गरे। कोरोना महामारीका कारण सफल भएन। ‘मैले जे गरे पनि बिग्रिने जस्तो हुन थाल्यो।  इमानदारीका साथ काम गरे पनि त्यसको नतिजा आउन सकेन। म शून्य भएँ, के गर्ने भन्ने सोच्नै कठिन थियो। त्यही क्रममा फिल्म प्रस्ताव हुन थाले, मैले काम त गरेँ, तर ती सब गरिबी हटाउन थिएँ किनकि मैले प्रतीक्षा गरेको मुख्य भूमिका अझै प्रस्ताव आएका थिएनन्’, उनले भन्।

फेरि पाँच वर्षपछि ‘फेरि रेशम फिलिली’ मार्फत अभिनयमा फर्किएका अभिनेता चौरसियालाई एक दिन निर्माता विनोद पौडेलले फोन गरेर भेट्ने प्रस्ताव राखे। ‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले बोलाएपछि नभेट्ने कुरै भएन। उनले कार्यालयमा पुगेर फिल्म कथा सुने। मधेश र  सीमावर्ती  क्षेत्रको कथा भएकाले उनी आकर्षित गर्नु स्वाभाविक थियो, तर मुख्य अभिनेताको प्रस्ताव आएपछि उनी अक्क न बक्क भए।

‘मैले जे चिजका लागि यत्रो मेहनत गरेको थिएँ, त्यो  पाउँदै थिएँ। त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ। आफ्नो मेहनतको फल पाएँ झैँ लागेको छ’, अभिनेता चौरसियाले भने।

फिल्म ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गरेका छन्। मधेशको पृष्ठभूमिमा आधारित यो फिल्ममा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गरेका छन्। फिल्म मुकेश खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद् महतोको छायांकन र मदन घिमिरेको सम्पादनमा बनेको छ। रासस

प्रकाशित: ५ असोज २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast