
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले शोक दिवसको अवसरमा मुलुक गहिरो पीडामा रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले आमाबाबुका रित्तिएका काख, रोएको नेपाल र थपिएका कालरात्रिको उल्लेख गर्दै वर्तमान मात्र नभई भविष्य पनि शोकमग्न रहेको टिप्पणी गरेका हुन्।
उनले भनेका छन्,‘कलिला, होनहार बाबुनानीको लास र राष्ट्रिय सम्पत्तिको खरानीमाथि अझै पनि पदका लागि तीव्र दौड तथा प्रतिस्पर्धा भइरहेको छ।’
भण्डारीले मुलुक, जनता र रगतको सम्मानबारे प्रश्न उठाउँदै शहीदहरूको सपना पूरा गर्ने विषयमा राजनीतिक दल र नेताहरू अझै संवेदनशील नबनेको उल्लेख गरेका छन्।
उनले पद र अहमको लोभलाई ‘मानसिक रोगीहरूको छटपटी’ को संज्ञा दिँदै सबै सहिदहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।
यही भदौ २३ र २४ गते देशभर भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले प्रदर्शन गर्दा गोली प्रहारबाट ७३ जनाको मृत्यु भएको थियो। सरकारले आज शोक बिदा दिएको छ।