
काठमाडौँ- भदौ २४ गतेयता प्रमुख तीन दलका नेता शीर्ष नेताको अवस्थाबारे धेरैको चासो रह्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीलाई २४ गते अपराह्न निवासै गम्भीर घाइते हुने गरी आक्रमण गरिएको थियो। त्यो घटनाबारे सामाजिक सञ्जालमा केही भिडियो फुटेज देखिएपछि उनीहरू घाइते भएको जानकारी आएको हो। त्यसपछि कांग्रेसले औपचारिक रूपमा देउवा कहाँ छन् भनेर जानकारी दिएको छैन।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गते अपराह्न सिंहदरबारमा सर्वदलीय बैठक डाकेका थिए। बैठक सुरु नहुँदै सिंहदरबारमा आगजनी हुन थालेपछि उनी नेपाली सेनाको सुरक्षामा पुगेका थिए।
नयाँ सरकार गठन भई आन्दोलन साम्य हुन थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार पार्टी कार्यालय अवलोकनका लागि कोटेश्वरस्थित पेरिसडाँडा पुगेका छन्। जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालयको निरीक्षणका लागि उनी पार्टी कार्यालय गएका हुन्।
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा थिए। प्रचण्डको खुमलटारस्थित निवास पनि आक्रमणकारीले ध्वस्त बनाएका छन्। उनी अहिले कहाँ बसेका छन् भनेर पार्टी नेताहरू बताउन चाहँदैनन्।
भदौ २३ गतेको ‘नरसंहार’ पछि निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक रूपमा एकपटक देखिए। सोही साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि उनी अहिलेसम्म सार्वजनिक भएका छैनन्। २४ गते राजीनामा दिएका उनी बालुवाटारबाटै सैनिक हेलिकप्टर चढेर ब्यारेकको शरणमा पुगेका थिए। त्यसपछि बालबालिकाका नाममा एउटा वक्तव्य निकालेका उनले पछिल्लो राजनीतिक घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
यसबीचमा नयाँ सरकार गठन भइसकेको छ। भदौ २३ र २४ गतेको घटनामा कम्ती ७२ जनाको मृत्यु भएको छ भने संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, पालिका भवन, देशभरका प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठान, सवारीसाधन गरी अर्बौँ रुपैयाँ जलेर खरानी भएको छ। यी सबै घटनाको दोषी ओली रहेको दाबीसहित पूर्वसांसद तथा कांसेस नेता अभिषेकप्रताप शाहले कर्तव्य ज्यानको जाहेरी दिएका छन्। एमाले नेताहरूका अनुसार ओली शिवपुरीस्थित सैनिक ब्यारेकमा बसेका छन्।
यसैगरी ओली सत्तामा रहँदा प्रमुख सहयात्री दल रहेका कांग्रेसका सभापति देउवा र पत्नी आरजु छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार गराइरहेका छन्। उनीहरू अझै केही दिन अस्पतालमा रहने सैनिक स्रोतले बताएको छ। प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित निवासमै आक्रमण गरेर घाइते बनाएका थिए। निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी आरजुमाथि पनि आक्रमण भएको थियो।
देउवा दम्पतीले अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही समय आराम गर्नुपर्ने अवस्थामा रहेको कांग्रेस नेताहरू बताउँछन्। ओली र देउवा दुवैको घर खरानी भएका छन्। त्यसैले उनीहरूका लागि तत्काल आवासीय भवनको जोहो गर्नुपर्ने अवस्था रहेको नेताहरू बताउँछन्।
विगठित प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भने सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा जेल सजाय बिताइरहेका छन्। २४ गतेको प्रदर्शनका क्रममा कारागारमा आक्रमण हुन थालेपछि सुरक्षाका लागि घर फर्किएका लामिछाने शनिबार कारागार फर्किएका हुन्।