मन्त्रिपरिषद्को पहिलो बैठक : जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने निर्णय

हिमाल प्रेस ३० भदौ २०८२ २०:४२ | Monday, September 15, 2025
मन्त्रिपरिषद्को पहिलो बैठक : जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्ने निर्णय प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ– सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। नवगठित मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले भदौ २३ र २४ गते भएका प्रदर्शनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।

बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय भएको छ।

सरकारले सहिदका परिवारलाई क्षतिपूर्तिबापत नियमित दिँदै आएको १० लाख र अन्य खर्चबापत थप पाँच लाख गरी १५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उनले बताए। अर्थ र गृह मन्त्रालयले तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उक्त क्षतिपूर्ति प्रदान गर्नेछ।

बैठकले घाइतेको निःशुल्क उपचार, शव सम्बन्धित स्थानमा लैजानुपरेमा निःशुल्क व्यवस्था र दाहसंस्कारमा सघाउने निर्णय गरेको छ। बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिए।

सोही आयोगको प्रतिवेदनका आधारमा आवश्यक काम गरिने उनको भनाइ छ।

यसैगरी सहादत प्राप्त गर्ने सहिदको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय भएको छ। बैठकले अघिल्लो मन्त्रिपरिषद् बैठकमा पेस भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णयसमेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिए।

प्रकाशित: ३० भदौ २०८२ २०:४२ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast