आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

हिमाल प्रेस ३० भदौ २०८२ १७:३४
8
SHARES
आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौँ- जेनजी पुस्ताको प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए। स्वास्थ्य तथा संख्या मन्त्रालय पनि यसबाट जोगिन सकेन। बढी क्षति भएको मन्त्रालयमा स्वास्थ्य पर्दछ।

स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एउटा टेकुस्थित स्वास्थ्य सेवा विभाग भने आगजनीबाट जोगिएको छ। त्यसैले कार्यालयका नियमित कामकाज आइतबारदेखि नै सुरु भइसकेका छन्।

विभागका महानिर्देशक डा.टंकप्रसाद बाराकोटीले प्रदर्शनमा विभागको भवन जोगिएको बताए। स्वास्थ्य मन्त्रालयमा राखिएको विभागको एउटा गाडी र मोटरसाइकलमा क्षति पुगेको छ।

विभागभित्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना र सञ्चार केन्द्रलगायत रहेका छन्।

उपचारात्मक सेवा महाशाखा, व्यवस्थापन महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परिवार कल्याण महाशाखा रहेका छन्।

विभागमा क्षति नपुगे पनि देशभर ३० नगरपालिकामा रहेको स्वास्थ्य शाखामा भने क्षति पुगेको महानिर्देशक डा.बाराकोटीले जानकारी दिए। ‘क्षतिको विवरण संकलन गर्दैछौँ,’ उनले भने।

मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका र स्वास्थ्य संरचनामा हालैको घटनाबाट क्षति पुगेको छ।

स्वास्थ्य संस्था, खोप भण्डारण केन्द्रमा कतै पूर्ण र कतै आंशिक क्षति भएको छ। पुनःस्थापना तथा मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको बताए। उनका अनुसार हालसम्म १९ खोप कोल्ड चेन स्टोरमा क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको छ।

प्रकाशित: ३० भदौ २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast