कैदीबन्दी भगाउन सहयोग गरेको अभियोगमा १४ जना पक्राउ

हिमाल प्रेस २८ भदौ २०८२ २१:२८ | Saturday, September 13, 2025
कैदीबन्दी भगाउन सहयोग गरेको अभियोगमा १४ जना पक्राउ

पर्वत– जिल्ला कारागारमा जेल जीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका लागि थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले १४ जना व्यक्तिलाई पक्राउ गरेको छ।

देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले एक महिलासहित १४ जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाका एक र चितवनका एक जनालाई पक्राउ गरिएको हो।

नियन्त्रणमा रहेका सबैलाई हिरासतमा राखी कारागार ऐन, २०७९ को थुनुवालाई भगाउने वा भगाउन सहयोग गर्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको उनले बताए। यीमध्ये केही युवा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा समेत पक्राउ परेका छन्।

पर्वत जिल्ला कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएका थिए। प्रहरीले फरारमध्ये पाँच र कास्की कारागारबाट फरार भएका पाँच गरी १० जनालाई नियन्त्रणमा लिई पुनः कारागार चलान गरिसकेको छ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार पर्वत जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई तुरुन्त जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गर्नसमेत अनुरोध गरेको छ। प्रहरीले यसरी फरार रहेका व्यक्तिहरू कहीँकतै देखेको अवस्थामा खबर गरेर सहयोग गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: २८ भदौ २०८२ २१:२८ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast