
काठमाडौँ- अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको फिल्म ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। गीतमा चर्चित गायक पुष्पन प्रधान र आकांक्षा थापाको स्वर छ। गायक पुष्पनकै शब्द र संगीत रहेको गीत नृत्य शैलीमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभी थापा लगायतका कलाकार देखिएका छन्। कोरियोग्राफी चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।
उदिप राना थापा निर्देशित फिल्म कार्तिक २८ मा प्रदर्शन गर्ने टिमको तयारी छ। निर्देशक थापाक अनुसार फिल्म नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, उनीहरूको भावनात्मक सम्बन्ध र सांस्कृतिलाई केन्द्रित छ।
फिल्ममा सुरक्षा पन्तसँगै भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभी थापा पनि मुख्य भूमिकामा देखिनेछन्। सहायक भूमिकामा बुद्धि तामाङ, सुनिल थापा, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मालगायत कलाकारले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउत केमियो भूमिकामा देखिनेछिन्।
बलिउडका अनिकेर एम. घोघले छायांकन गरेको फिल्म अखिलेश रायको सम्पादनमा बनेको छ। फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको फिल्मका निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा छन्।