 
                             
                                            पोखरा- जेनजी आन्दोलनका क्रममा पोखराका होटल क्षेत्रमा मात्र तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
गत मंगलबार जेन-जी आन्दोलनमा हिंसात्मक घटनाका कारण पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका विभिन्न होटल तथा रिसोर्टमा तोडफोड तथा आगजनी गरिएको थियो। जसबाट होटल सरोवर, होटल एडम्, होटल पोखरा गुडविल, वरपीपल रिसोर्ट, बगैंचा रिसोर्ट एण्ड स्पा लगायत अन्य प्रतिष्ठानमा ठूलो क्षति पुगेको छ।
होटल संघ पोखरा नेपालले समग्रमा पोखराका होटल क्षेत्रमा मात्र तीन अर्ब बराबरको क्षतिको अनुमान गरिएको जनाएको छ। संघका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार विज्ञप्ति जारी गर्दै आगजनीका कारण प्रतिष्ठानबाट सेवा लिँदै गरेका पर्यटकसमेत प्रभावित हुन पुगेको र त्यस बराबरको क्षति भएको जनाएका हुन्।
पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानबिन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत बिमा कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघले अपिलसमेत गरेको छ। शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाहीसहित उचित क्षतिपूर्ति दिलाई प्रभावित होटलहरूको मर्मत–सम्भार तथा पुनर्निर्माणका लागि सरकार, बिमा, बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्ने कार्यमा सदैव साथ र सहयोग रहने विश्वास समेत संघले दिलाएको छ।
बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरू असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यावसायिक सुरक्षा कायम राख्न सरकारसँग माग गरेको छ।
पोखरा र यस आसपासमा हाल १२ सय होटल सञ्चालित छन्। पर्यटकीयस्तरका मात्रै सात सय छन्। तीमध्ये करिब साढे चार सय संघमा आबद्ध छन्। जेनजी आन्दोलनका क्रममा पोखराका अधिकांश सरकारी कार्यालय तथा केही व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी गरिएको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 