सागर ढकालले अघि सारे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को खाका

हिमाल प्रेस २६ भदौ २०८२ ८:४०
सागर ढकालले अघि सारे सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को खाका सागर ढकाल

काठमाडौँ– अभियन्ता सागर ढकालले अन्तरिम सरकारको ढाँचा सार्वजनिक गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सकिने राय पेस गरेका छन्।

ढकालले आफ्नो फेसबुक पोस्टमार्फत बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रस्ताव अघि सारेका हुन्।

ढकालले अघि सारेको खाकामा संसद् विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने, संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र विज्ञ व्यक्तिलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

उनले कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् नौ सदस्यीय बनाउन सकिने, जहाँ जेनेरेसन एक्स, वाई र जेड पुस्ताबाट समान सहभागिता सुनिश्चितता गर्ने धारणा राखेका छन्। त्यस्तै, उक्त सरकारले निर्वाचन घोषणा गरी पुराना दलका शीर्ष नेताहरूलाई उम्मेदवार बन्न नदिने अध्यादेश ल्याउनुपर्ने सुझावसमेत राखिएको छ।

यस्ता छन् उनका ९ बुँदा:

१) ढिला नगरी राष्ट्रपतिलाई संसद् विघटन गर्न भन्ने

२) सुशीला कार्कीलाई हजुरहरूका माग अनौपचारिक रूपमा राख्ने । सुशीला कार्की र हजुरहरू सहमत भएको ड्राफ्ट फाइनल गर्ने ।

३) त्यो ड्राफ्ट हजुरहरूले फाइनल गरेर राष्ट्रपतिकोमा सम्बन्धित मन्त्रीको रोहवरमा पेस गर्ने ।

४) राष्ट्रपतिले आवश्यक संवैधानिक परिमार्जन गर्ने (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सम्बन्धित विषयको विग्यलाइ मन्त्री बनाउने, पूर्ण समानुपातिक संसद् आदि हजुरको माग बमोजिम)।

५) सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने । ९ जना मन्त्री बनाए पनि भयो – XYZ पुस्ताबाट ३-३-३ , जो हजुरहरूले सुशीला कार्कीसँग मिलेर छान्ने। चुनावमा नउठ्ने मनसायको जो मन्त्री बन्छ त्यसलाई बनाउने ।

६) सुशीला कार्कीको सरकारले चुनाव घोषणा गर्छ । चुनावमा पुराना दलका करिब सबै टाउके नेता उठ्न नमिल्ने गरी अध्यादेश ल्याउने। काँग्रेस, एमाले मावोवादी पुरै नयाँ र जागरूक हुन्छ – कडा प्रतिपक्षको रूपमा सायद।

७) सेनालाई भेटेर चुनावमा सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न भन्ने।

७) विदेश बसेकालाई भोट हाल्न आव्हान गर्ने । यो सम्भव छ र गर्न सकिन्छ।

८) हजुरले चाहेको प्रधानमन्त्री २०८३ को वैशाखमा हजुरको आँखै अगाडी आउँछ, अबको जम्मा ६-७ महिनामा।

९) अबको ३० वर्ष Gen YZ रातदिन नभनेर काम गर्ने, Gen Alpha र उनीहरूको छोराछोरिहरुलाई विश्वकै एक नमुना देश सुम्पने।

ढकालले आफ्नो पोस्टमा यो आन्दोलनलाई ऐतिहासिक मोडका रूपमा चित्रण गर्दै यसलाई फ्रेन्च र रसियन क्रान्तिसँग तुलना गरेका छन्। उनले सहिदहरूको बलिदानलाई स्मरण गर्दै आगामी ३० वर्षभित्र नयाँ पुस्ताले नेपाललाई विश्वकै आदर्श मुलुक बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रकाशित: २६ भदौ २०८२ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast