
काठमाडौँ- सुरक्षा निकायका प्रमुखहरूले संवादका माध्यमबाट समाधान निकाल्न आन्दोलनरत पक्षलाई अनुरोध गरेका छन्।
मुख्यसचिवसहित सुरक्षा निकायका प्रमुखहरूले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादको माध्यमबाट शान्तिपूर्ण समाधान निकाल्न आग्रह गरेका हुन्।
मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनपाति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापाले संयुक्त विज्ञप्ति निकालेका हुन्।
प्रधानन्त्री केपी शर्मा ओलीको राजीनामासमेत स्वीकृत भइसकेको भन्दै उनीहरूले सबैलाई संयमित हुन आग्रह गरेका छन्।
‘सम्मानीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ,‘यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ।’