
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। उनले लोकतन्त्रको मूल्य र नागरिक अधिकारका पक्षमा उभिँदै मन्त्री पदबाट राजीनामा दिएको जनाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो।’
यसैगरी उनले एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु नैतिक संकटमा आफू रहन नसकेको उनको भनाइ छ।
उनले सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारीका रूपमा लिएका छन्। ‘उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।’