बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

हिमाल प्रेस २४ भदौ २०८२ ८:२५
8
SHARES
बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङ- यस वर्ष बागलुङबाट ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ। दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको संघका अध्यक्ष दीपक गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ।

आव २०८०/८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ।

उनका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ। त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ। छुर्पीको माग बढेपछि संघले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो।

दुग्ध सहकारी संघले बागलुङका १५ सहकारी संस्थाको दूध संकलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी संघले छुर्पी प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ। सहकारीमा आबद्ध किसानले दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।

सहकारी संघमा १७ कर्मचारीले संकलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको अध्यक्ष गौतमले बताए । यस्तै आव २०७९/८० मा २९ लाखको छुर्पी निर्यात गर्न सफल भएको थियो ।

प्रकाशित: २४ भदौ २०८२ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast