नेकपा (एमाले) महासचिव शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा हारेकालाई पार्टीमा व्यवस्थित गर्नुपर्ने बताएका छन्। ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए। उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्ने बताउँदै पार्टीमा युवा र जनसंगठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने धारणा राखे।
महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए। ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने। पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ। हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन’ उनले भने।
महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए। ‘महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ। पार्टी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन’,उनको भनाइ छ।
पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसंग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए।



