
काठमाडौँ- विद्यालय शिक्षा विधेयकलाई विद्यार्थीमैत्री बनाएर मात्रै अगाडि बढाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले बुधबार नेकपा एमालेको ध्यानाकर्षण गराएका छन्।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै संयुक्त विद्यार्थी संगठनले बुधबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले प्रमुख सचेतक महेश बर्तौलालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।
प्रस्तावित विद्यालय शिक्षा विधेयक नेपालको संविधान २०७२ र आम नागरिकको नैसर्गिक अधिकारविरुद्ध रहेको उनीहरुको आरोप छ।
साथै उनीहरुले नेपालको शिक्षालाई चरम निजीकरणतर्फ धकेल्दै सार्वजनिक शिक्षालाई तहसनहस पार्ने स्थिति सिर्जना भएको भन्दै निःशुल्क र समान शिक्षाको माग गरेका छन्।
विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै एमाले प्रमुख सचेतक बर्तौलाले विद्यालय शिक्षा विधेयक सदनमा पेस भइसकेको अवस्थामा सकेसम्म जायज सुझावका बारेमा छलफल गर्ने आश्वासन दिए।
संयुक्त विद्यार्थी संगठनले आफूहरुका मागका बारेमा सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।