मन्त्रालयमा पुगेका फाइल सात दिनभित्र टुंगो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

हिमाल प्रेस १५ भदौ २०८२ १६:५८ | Sunday, August 31, 2025
मन्त्रालयमा पुगेका फाइल सात दिनभित्र टुंगो लगाउन मुख्यमन्त्री कार्कीको निर्देशन

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइलहरू सात दिनभित्र टुंगो लगाउन निर्देशन दिएका छन्।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अबदेखि सात दिनभित्र मन्त्रालयमा पुगेका राय परामर्श र अन्य सबै खाले फाइल टुंगो लगाउन निर्देशन दिए।

उनले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिन निर्देशन दिए।

उनले भने, ‘हामीकहाँ धेरै फाइल पनि हुँदैन तर अड्काउने प्रवृत्ति राम्रो होइन। यसमा सुधार होस्।’

मुख्यमन्त्री कार्कीले बेरुजु फर्छ्यौटमा पनि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिए। उनले लिखित रूपमा बेरुजु फर्छ्यौटका लागि अनुरोध गर्ने त्यसो नभए कानुनी प्रक्रिया अपनाएर अगाडि बढ्नुपर्ने बताए।

उनले नीतिगत बेरुजु र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुष मसान्तभित्र किनारा लगाउन कर्मचारीहरूलाई निर्देशन दिए। सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले नीतिगत र प्रशासनिक कामलाई छिटो र छरितो बनाउनुपर्ने बताए।

उनले गुनासो सुनवाई शतप्रतिशत र प्रशासनिक कामलाई जनताले देखिने गरी छिटो छरितो ढंगले टुंग्याउन निर्देशन दिए। कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक समृद्धिका लागि सुरु गरेको उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलन मार्फत आएका परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे।

प्रकाशित: १५ भदौ २०८२ १६:५८ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast