सत्ताको छाया : आरोप एउटै, व्यवहार फरक

हिमाल प्रेस १२ भदौ २०८२ १८:१९
16
SHARES
सत्ताको छाया : आरोप एउटै, व्यवहार फरक

काठमाडौँ- साइबर अपराधमा पक्राउ पुर्जी जारी भएपछि सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर बुधबार आफैँ प्रहरीमा उपस्थित भए। एक जना महिलाले महरविरूद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्। उजुरी प्राप्त भएपछि प्रहरीले महरलाई नियन्त्रणमा लिन काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको थियो।

सामाजिक सञ्जाल फेसबुकमार्फत महरले ति महिलाको चरित्र हत्या गरेको आरोप छ। साइबर ब्यूरोले दर्ता गर्न नमानेपछि महिलाले हुलाकमार्फत उजुरी पठाएकी थिइन्। त्यसपछि मात्रै ब्यूरोले महरलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले महर आफैँ उपस्थित भएको जानकारी दिए। ‘उहाँविरूद्ध हुलाकमार्फत एउटा उजुरी प्राप्त भएको थियो। अदालतबाट पक्राउ पुर्जी पनि लिएका थियौँ,’ उनले भने,‘उहाँ आफैँ उपस्थित हुनु भएको हो।’

पक्राउ पुजी जारी भएसँगै आफैँ उपस्थित भएका महरसँग बयान लिएर साइबर ब्युरोले त्यही दिन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरिदियो। र, त्यहीँबाट उनलाई हाजिरी जमानीमा छोडने निर्णय भयो। सरकारी वकिल कार्यालयले बयान लिएर महरलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो।

महरविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही गर्नुपर्ने उजुरी परेको थियो। यो दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने उल्लेख छ।

यो दफाअनुसार कसुर पुष्टि भए एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। त्यस्तै पक्राउ पुर्जी जारी भएपछि आरोपीलाई प्रहरीले अनुसन्धानका लागि अधिकतम २४ दिनसम्म थुनामा राख्न सक्छ। पक्राउ परेको २४ घन्टासम्म अदालतमा पेस नगरी पनि प्रहरीले त्यो व्यक्तिलाई थुनामा राख्न सक्छ।

तर, महरको हकमा भने यो प्रक्रिया लागु भएन। उनी प्रहरीसमक्ष उपस्थित भएको दुई घन्टामै जिल्ला सरकारी वकिल कार्यालयबाटै थुनामुक्त भए। साइबर अपराधसम्बन्धी प्रहरीसमक्ष उपस्थित भएकै दिन थुनामुक्त भएको घटना बिरलै हेर्न पाइन्छ।

महरजस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाण्डे पनि बुधबार नै प्रहरीसमक्ष उपस्थित भए। उनीमाथि पनि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार नै प्रहरीले पक्राउ अनुमति लिएको थियो।

पाण्डेले ईमेल तथा ह्वाट्सएपमार्फत एक महिलाको चरित्र हत्या हुने गरी अपशब्द प्रयोग गरेको आरोप छ।

एकैखाले अपराध गरेको आरोपमा महर हाजरी जमानीमा रिहा भए भने रास्वपा नेता पाण्डे भने थुनामा छन्। पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न ब्यूरोले चार दिनको अनुमति लिएको थियो। एकैखाले कसुर गरेको आरोप लागेका कसैलाई केही घन्टामै छोडिदिने र कसैलाई थुनामा राखिदिने व्यवहारले प्रहरी र सरकारी वकिल कार्यालयको क्रियाकलाप शंकास्पद बनेको छ।

प्रकाशित: १२ भदौ २०८२ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast