
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलित उखु किसानका समस्या समाधान गर्न दुई प्रस्ताव अघि सारेका छन्। महामन्त्री थापाले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र सम्बन्धित अधिकारीहरूसँग बुधबार भेटेर दुई विषयमा कुरा गरेको जानकारी बिहीबार सामाजिक सञ्जालमा दिएका हुन्।
थापाले आन्दोलित किसानलाई सरकारले कबुल गरेअनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी तत्काल गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले भनेका छन्, ‘बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो छैन।
चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ‘उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आव २०८१/८२ को समेत)’ शीर्षकमा दुई अर्ब रुपैयाँ छुट्ट्याइएको छ। यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकमअन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्छ।’
किसानको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने उनको प्रस्ताव छ। किसानहरूलाई पटकपटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने पनि उनले उल्लेख गरेका छन्।
‘न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित गर्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहुआयामिक ढंगले काम गर्नुपर्नेछ’, थापाले लेखेका छन्।
थापाले कृषि मन्त्रालय यी दुवै विषयमा प्रस्ट रहेको थापाको दाबी छ। उनले लेखेका छन्, ‘तर यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र टुंगिँदैन। अतः प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिनुहोस्।’