आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

हिमाल प्रेस ११ भदौ २०८२ ११:१५ | Wednesday, August 27, 2025
आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

पाँचथर- हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ। गाउँपालिकाले मंगलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार रु दुई लाख ४८ हजार लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो।

‘आरन चलाउनेको संख्या घट्दै गएको छ। पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ’,अध्यक्ष अधिकारीले भने। यहाँका विशेषतः गाउँघरमा कृषि र घरायसी प्रयोगका औजार निर्माण र मर्मत गरिन्छ।

त्यसैगरी, चालु आवमा संघीय सरकारले दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवर्द्धन गर्न रु ५० लाख विशेष अनुदान उपलब्ध गराएको उनले बताए। उक्त बजेटले अधिकांश आरन ब्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने अधिकारीले बताए।

परम्परागत रूपमा सञ्चालित आरनबाट निर्मित औजार गुणस्तरीय हुने भए पनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ। यहाँका आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन्। आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ।

हिलिहाङ-६ का सन्तवीर रसाइलीका अनुसार परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक छ। आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो। अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्नेमा उनको जोड छ।

गाउँ कार्यपालिकाकी सदस्य गंगामाया विश्वकर्मा हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेकामा सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सकेमात्र व्यावसायिक रूप लिनसक्ने बताउँछन्।

प्रकाशित: ११ भदौ २०८२ ११:१५ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast