लिपुलेक व्यापारिक नाकाबारे भारत-चीनको निर्णयप्रति नेसपा नयाँ शक्तिको आपत्ति, त्रिदेशीय सहकार्यको ढाँचा बनाउन सुझाव

हिमाल प्रेस ८ भदौ २०८२ १५:०१ | Sunday, August 24, 2025
लिपुलेक व्यापारिक नाकाबारे भारत-चीनको निर्णयप्रति नेसपा नयाँ शक्तिको आपत्ति, त्रिदेशीय सहकार्यको ढाँचा बनाउन सुझाव

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले नेपालको पूर्वसहमति र परामर्शबिना नेपाली भूमि लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भारत–चीनबीच लिपुलेक नाका सञ्चालन गर्ने सहमति भएको र यसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बेवास्ता गरिएको उल्लेख गरिएको छ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिको विरोधमा तत्कालीन नेपाल सरकारले दुवै मुलुकलाई असहमति पत्र पठाइसके पनि, पुनः त्यही गल्ती दोहोर्‍याइएको पार्टीले जनाएको छ। ‘नेपालको स्पष्ट आपत्ति हुँदाहुँदै पनि भारत र चीनले दोहोरिएको गल्ती नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति अपमान हो,’ विज्ञप्तिमा भनिएको छ।

पार्टीका प्रवक्ता कृष्ण शर्मा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यस विषयमा कूटनीतिक सक्रियता देखाउन नसकेको भन्दै आलोचना गरिएको छ। ‘सीमा विवाद र संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ सशक्त र परिणाममुखी पहल गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

नेसपाले भारत–चीन–नेपालबीच आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नुपर्ने सुझाव पनि दिएको छ।

‘नेपाल कुनै पनि शक्तिको हेपाइ र चेपुवामा पर्ने मुलुक होइन; दुई विशाल अर्थतन्त्रबीचको गतिशील पुलका रूपमा आफ्नो भूमिका मजबुत पार्दै राष्ट्रिय स्वार्थको संरक्षण गर्न सरकारलाई जोडदार अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ भदौ २०८२ १५:०१ | Sunday, August 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast