वीरगञ्जमा फैलियो हैजा

हिमाल प्रेस ७ भदौ २०८२ १९:१४
12
SHARES
वीरगञ्जमा फैलियो हैजा

काठमाडौँ-  वीरगञ्जमा हैजाको संक्रमण देखिएको छ। हालसम्म महानगरको चारवटा वडामा हैजाको संक्रमण देखिएको हो।

वीरगञ्ज महानगर कार्यालयका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले हैजा संक्रमण देखिएको पुष्टि गरे। उनले वडा नम्बर ११, १२, १३ र १६ मा हालसम्म हैजाको संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार हैजा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। साहले भने,‘झाडा पखालाका बिरामीहरूको संख्या बढिरहेको छ। हिजा तीन जनामा संक्रमण देखिएकोमा आज ३६ जना संक्रमित भएका छन्।’
साहका अनुसार संक्रमितहरूको वीरगञ्जको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

वीरगञ्जमा हैजा फैलिएपछि मलेसिया भ्रमणमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल प्रभावित क्षेत्रमा खटिन प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएका छन्।

त्यस्तै समुदायस्तरमा संक्रमण फैलिएपछि वीरगञ्ज महानगरपालिकाले अस्पतालका प्रमुखहरूसँग छलफल गरी २४ वटा टोली गठन गरेको छ। टोलीलाई बिरामीहरूको उपचारको व्यवस्था गर्न, हैजा नियन्त्रणका लागि प्रभावकारी योजना बनाउन, समुदायमा पुगेर सचेतना जगाउनेलगायतका जिम्मेवारी दिइएको छ।

शुक्रबार वीरगञ्ज–१२ मुर्ली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएकोमा शनिबारसम्म वडा नम्बर ११, १३ र १६ मा हैजा फैलिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।

अस्पतालहरूमा पछिल्लो एक सातादेखि हैजाका बिरामीहरू पुगिरहे पनि आफूहरूलाई जानकारी नगराउँदा समुदायस्तरमै पुगेको महानगरले जनाएको छ। हैजाका बिरामीहरू अस्तपालतमा आउन थालेको जानकारी पाएसँगै महानगरले तत्काल सरोकारवालाहरूसँग समन्वय गरेर आवश्यक कामका लागि परिचालन गरेको मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए।

दुषित पानी र दुषित खानका कारण हैजा फैलिने गरेको चिकित्सकहरूको भनाइ छ। महानगरका स्वास्थ्य शाखा प्रमुख साहले हैजा संक्रमण देखिएका क्षेत्रहरूबाट पानीको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए।
हैजा फैलिुनका कारण ठेलामा बिक्री हुने खानेकुरा हुन सक्ने भन्दै महानगरले तत्कालका लागि त्यस्ता पसलहरू बन्द गर्न लगाएको छ।

त्यस्तै महानगरभित्र रहेका विभिन्न नर्सिङ क्याम्पसमा अध्ययनरत छात्राहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरी संक्रमणबाट जोगिनबारे सचेतना गराउन काम भइरहेको महानगरले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख साहले समुदायस्तरमै हैजा फैलिए पनि यसका कारण कसैको ज्यान गएको पुष्टि नभएको बताए।

प्रकाशित: ७ भदौ २०८२ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast