‘ताराहरू’लाई रंगमञ्चमा मात्रै सीमित राख्न मन लागेन : निर्देशक शर्मा

हिमाल प्रेस ५ भदौ २०८२ १९:४४
10
SHARES
‘ताराहरू’लाई रंगमञ्चमा मात्रै सीमित राख्न मन लागेन : निर्देशक शर्मा

काठमाडौँ- रंगमञ्चबाट कथा भनिरहेका कलाकार आशान्त शर्माले अभिनयसँगै निर्देशन गरेको फिल्म ‘ताराहरू’ यही शुक्रबार अर्थात् भदौ ६ देखि प्रदर्शन हुँदैछ।

रंगमञ्चमा मञ्चन हुने नाटकमा निर्देशक र अभिनेतासँगै प्राविधिक पाटोसमेत सम्हालेका कलाकार शर्माले यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताएका छन्। रंगञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः फिल्मको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनको भनाइ छ।

‘नाटक मञ्चन गरेपछि यसलाई धेरै ठाउँमा देखाउन रंगकर्मीले सुझाव दिनुभयो। केहीले युट्युबमा राख्नसमेत सुझाउनु भयो, तर नेपालभर नाटक लिएर यात्रा गर्न सम्भव थिएन। नाटकका कलाकार सबैको समय मिलिरहेको थिएन। युट्युबमा ल्याउँदा मलाई मर्म मर्छ भन्ने लाग्यो,’ शर्माले भने,‘त्यसैले ‘साथी, साथी आइदेऊ न’ नाटकको कथा धेरैसम्म पुग्नुपर्छ भन्ने सोचले नै मैले यसलाई फिल्मको माध्यममा ल्याएको हुँ।’

रंगमञ्च मै रमाउने कलाकार शर्मा यसपटक निर्देशकसँगै अभिनेता बनेका छन्। पहिलोपटक फिलममा मुख्य अभिनेता बन्नुको कारण उनी पात्रप्रतिको न्यायलाई लिन्छन्। आफूले जीवन्त बनाएको पात्रलाई अन्यले के कसरी निर्वाह गर्ला भन्ने चिन्ताले नै निर्देशक र मुख्य अभिनेता बनाएको शर्माको भनाइ छ।

‘मैले एउटा भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेको भएँ, अहिलेको भन्दा राम्रो काम गर्न सक्थे भन्ने लाग्छ, तर त्यो कथालाई अन्य निर्देशकले कसरी प्रस्तुत गर्नुहोला भन्ने डरले आफैँ निर्देशक बनेको हुँ,’ उनले भने, ‘केही प्रसिद्ध कलाकारलाई पनि अभिनय गर्न दिउँ भन्ने लागेर केही संवाद पनि गरेको थिएँ, तर ती कलाकारको लोकप्रियताले मैले सिर्जना गरेको पात्र र कथाको मर्मलाई ओझेलमा पार्ने हो कि भन्ने डर लाग्यो। त्यसैले म आफैँ दोहोरो भूमिकामा आएँ।’

किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको फिल्म ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेकी एक किशोरीको भेट एक अर्धबैँसे पुरुषसँग हुन्छ। उनीहरू साथी बन्छन्। मृत्यु कल्पेर हिँडेकी किशोरीको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई फिल्मको विषय बनाइएको छ।

रंगमञ्चमा मात्र देखाइरहँदा कथाले न्याय नपाएको महसुस गरेका कलाकार तथा निर्देशक शर्मा फिल्म हेर्ने दर्शकले विभिन्न कोणबाट समीक्षा गर्नेमा विश्वस्त छन्।

‘व्यावसायिक रूपमा हामीले यो फिल्मको प्रचारप्रसार गर्न सकेका छैनौँ, तर फिल्म हेर्ने दर्शकले यसलाई प्रचार गरेर हेर्न आग्रह गरिदिनुहुन्छ भन्ने मलाई लागेको छ। हामी रंगमञ्चका कलाकारले इमान्दार भएर सिर्जना गर्न सक्छौँ, तर हालको समयमा प्रतिस्पर्धा गर्न सक्दैनौँ। हाम्रो विषय र कथाले नै प्रतिस्पर्धा गर्नेछ,’ उनले भने।

मध्यम वर्गीय परिवारमा जन्मेको पुरुषले सपना र चाहना पूरा गर्न कति संघर्ष गर्छ? समाजले उसबारे के सोच्छ? अनि उसले समाजबारे के सोच्छ? भन्ने प्रश्नको जवाफ खोज्दै कथा बुनिएको कलाकार शर्माले बताए।

फिल्ममा मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ५ भदौ २०८२ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast