
पोखरा- गण्डकी प्रदेश सभाले ‘अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ। प्रदेशसभाको मंगलबार बसेको बैठकमा दफाबार छलफलसँगै विधेयक पारित भएको हो।
गत वर्ष २६ चैतमा सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएकोमा गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम १२५ (२) को खण्ड (क) बमोजिम समितिको प्रतिवेदनसहित मंगलबार प्रदेशसभाबाट पारित भएको हो।
विधेयक प्रस्तुत गर्दै मन्त्री विन्दुकुमार थापाले समितिमा छलफलपछि उक्त विधेयक ल्याइएको उल्लेख गर्दै अपांगता भएका व्यक्तिहरुको समन्वय, सहजीकरण, अनुगमन तथा अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समिति समेत गठन गरिसकेको प्रस्ट पारे। उनका अनुसार ऐनले अन्तरवर्गीयता, अपांगताको विविधता, १० प्रकारका अपाङ्गतालाई समेट्ने परिभाषा, सवारीचालक अनुमतिपत्र पाउने व्यवस्था, दिवा सेवा केन्द्र सञ्चालन, सांकेतिक भाषाको विकास तथा अनुसन्धान, आवासीय शिक्षा, जोखिम अवस्थामा प्राथमिकता लगायतका व्यवस्था सुनिश्चित गर्नेछ। उनले भने, ‘अपांगता भएका व्यक्तिहरूमाथि हुने विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै उनीहरूको अधिकार, सम्मान र सशक्तीकरण सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।’
सामाजिक न्याय, समान अवसर र सम्मानजनक जीवनयापनतर्फको यात्रामा यो विधेयक महत्वपूर्ण साबित हुने उनको विश्वास छ।
यसैबीच प्रदेशसभा सदस्यहरुले सो विधेयक ऐतिहासिक, सकारात्मक र व्यावहारिक भएको भन्दै स्वागत गरेका छन्। सांसद डिल्लीराम सुवेदीले ऐन कार्यान्वयनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचको विषयलाई महत्त्वपूर्ण बताए।
सांसद भक्तबहादुर कुँवरले अपांगता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने अवस्था भएकाले विधेयक सबैका लागि महत्त्वपूर्ण भएको जनाए।
पूर्व मन्त्री एवं सांसद सुशीला सिंखडाले प्रतिपक्षमै भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक सहभागितामा अपांगता भएका व्यक्तिहरूलाई जोड दिएको विषय सबल पक्ष भएको उल्लेख गरिन्।
पूर्व मन्त्री एवं सांसद पञ्चराम गुरुङले अपांगतासम्बन्धी ऐन संविधानप्रदत्त मौलिक अधिकारसँग जोडिएको दस्तावेज भएको बताउँदै अपांगता भएका बालबालिकाको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई समेत जोड दिए।
सांसद सुनिता थापाले आफू पनि अपांगता समुदायको प्रतिनिधि भएको उल्लेख गर्दै गण्डकीको यो कदम अन्तर्राष्ट्रियजगत्का लागि उदाहरण बन्न सक्ने बताइन्। राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी अध्यक्ष खोमराज शर्माले विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा ऐतिहासिक दिन प्रारम्भ भएको भएको बताए। नेपालका ७ प्रदेशमध्ये अपांगतासम्बन्धी विधेयक ल्याउने गण्डकी पहिलो हो।
यसैबीच विधेयक पारित भएको उपलक्ष्यमा पोखराको सहिदचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरिएको छ।