फिल्ममा अभिनेत्री स्वस्तिमाकाे १० वर्ष पूरा, भन्छिन् : कखरा सिके, अहिले वर्णमाला सिकिरहेकी छु

हिमाल प्रेस ३ भदौ २०८२ १३:२७ | Tuesday, August 19, 2025
फिल्ममा अभिनेत्री स्वस्तिमाकाे १० वर्ष पूरा, भन्छिन् : कखरा सिके, अहिले वर्णमाला सिकिरहेकी छु

काठमाडाैँ- अभिनेत्री स्वस्तिमा खड्का फिल्ममा प्रवेश गरेको १० वर्ष पूरा भएको छ। स्वस्तिमाले ‘होस्टल रिटन्स’ बाट फिल्ममा डेब्यु गरेकी हुन्। डेब्यु फिल्म नै हिट भयो। त्यसपछि उनी अभिनीत ‘बुलबुल’, ‘पशुपति प्रसाद २ः भस्मे डन’, ‘दिमाग खराब’लगायत फिल्म चर्चित छन्।

आफ्नो फिल्मी यात्राको १० वर्ष पूरा भएको उपलक्ष्यमा मंगलबार उनले अभिनय यात्राको सुरुदेखि हालसम्मको अनुभवनबारे लामो स्टाटस लेखेकी छन्। उनले फिल्मबारे अध्ययन नै नगरी यो क्षेत्रमा प्रवेश गरेको र काम गर्दै जाँदा अग्रजहरूको मार्गदर्शनले फिल्मको कखरा सिकेको खुलाएकी छन्।

अहिले फिल्मको वर्णमाला सिकिरहेको र यसबाट अनेकौं दशकमा परिपक्क बनाउँदै लैजान्छ भन्नेमा ढुक्क रहेको बताएकी छन्। उनले लेखेकी छन्, ‘केही नसिकी, केही नपढी म फिल्ममा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई फिल्मको कखरा सिकायो। म अहिले फिल्मको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ।’

उनले आफ्नो पहिलोपटकको अनुभवमा केही उत्साह, लाज र गर्व महसुस गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘१० दिनअघि जस्तै लाग्छ। पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो। समयको सुइँ खट्खट खट्खट् दौडिएर १० वर्षको किशोर भइसकेछ। म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु।’

उनले आफूले गरेको कामको पछाडि फर्केर हेर्ने नगरेकोसमेत खुलाएकी छन्। यसले मानिसलाई विचलित र वैराग्य बनाउने उनको बुझाइ छ। १० वर्ष पुगेपछि भने विगतलाई फर्केर हेर्दा आनन्द महसुस गरेको उनले उल्लेख गरेकी छन्।

‘म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ। यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ। ओहो! यति धेरै गरिसकें भन्ने भावले अहंकारी बनाउँछ। हत्तेरी! केही गर्नै सकिनँ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ। म अहंकारी र वैरागी दुबै हुन चाहन्नँ।’ उनले लेखेकी छन्, ‘त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें। तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो। फर्किएर हेर्दा मलाई आनन्द लाग्यो।’

उनले १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दसौं वर्षलाई डोर्‍याउने  विश्वास गरेकी छन्। साथै उनले यात्रामा साथ दिने, अवसर दिने, अस्वीकार गर्ने र लड्दा उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्।

प्रकाशित: ३ भदौ २०८२ १३:२७ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast