युक्रेनले डोनेत्स्क र लुहान्स्क त्याग्नुपर्ने पुटिनको सर्त, के भन्छन् युरोपेली नेता?

हिमाल प्रेस ३१ साउन २०८२ २२:२५
72
SHARES
युक्रेनले डोनेत्स्क र लुहान्स्क त्याग्नुपर्ने पुटिनको सर्त, के भन्छन् युरोपेली नेता? अमेरिका भ्रमणपछि रूसको चुकोट्का स्वायत्त क्षेत्रका प्रमुखसँगको भेटमा सहभागी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर : एएफपी/रासस

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि डोनेत्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेन फिर्ता हुनुपर्ने सर्त राखेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्ना मूल माग पूरा भए बाँकी सर्त स्थगित गर्न सक्ने बताएका हुन्। फाइनान्सियल टाइम्सले चार प्रत्यक्ष स्रोतलाई उधृत गर्दै पुटिनले यो माग शुक्रबार अलास्कामा ट्रम्पसँगको भेटवार्तामा राखेको उल्लेख गरेको छ।

पुटिनको यो सर्त शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँगको फोन वार्तामा पुर्‍याएका छन्। यस कदमले मस्कोलाई दशकभन्दा बढी समय अंशतः कब्जामा रहेको र नोभेम्बरयता सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको भूभागमा पूर्ण स्वामित्व दिनेछ।

वार्ताबारे जानकारी राख्ने तीन व्यक्तिहरूको भनाइअनुसार डोनेत्स्क र लुहान्स्कको सट्टामा पुटिनले आफ्नो सेनाले ठूलो भूभाग कब्जा गरिरहेका दक्षिणका खेरसोन र जापोरिज्झिया क्षेत्रबाट अघि नबढ्ने र थप भूभाग कब्जा गर्न नयाँ आक्रमण नगर्ने बताएका थिए।

पुटिनले युद्धको ‘मूल कारण समाधान गर्ने’ आफ्ना मूल माग भने छोडेका छैनन्। ती माग पूरा भए युक्रेनको वर्तमान स्वरूपको राज्य अस्तित्व अन्त्य हुने र नाटोको पूर्वतर्फको विस्तार रोकिने देखिन्छ।

एक पूर्व वरिष्ठ क्रेमलिन अधिकारीका अनुसार ‘मूल कारणहरू’ सम्बोधन भएमा पुटिन अन्य विषयमा सम्झौता गर्न तयार छन्। रूसी सेनाले डोनेत्स्कको करिब ७० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ तर यसको पश्चिमी भागका प्रमुख सहर अझै युक्रेनकै नियन्त्रणमा छन्। ती सहर पूर्वी मोर्चामा सैन्य कारबाही र प्रतिरक्षाका लागि महत्त्वपूर्ण मानिन्छन्। लुहान्स्कको पश्चिमी सानो भागबाहेक बाँकी सबै भूभाग रूसकै नियन्त्रणमा छ।

जेलेन्स्कीको रणनीतिबारे जानकारी राख्ने व्यक्तिहरूका अनुसार उनी डोनेत्स्क बुझाउन सहमत हुने छैनन्। तर वासिङ्टनमा सोमबार ट्रम्पसँग हुने अपेक्षित भेटमा जेलेन्स्की भूभागबारे छलफल गर्न तयार भएका छन्।

त्यो व्यक्तिहरूका अनुसार जेलेन्स्की ट्रम्प र पुटिनसँग त्रिपक्षीय भेटमा पनि यस विषयबारे छलफल गर्न तयार हुनेछन्। पुटिनका भूभागसम्बन्धी माग अप्रिलयता बढी कठोर देखिएका छन्। त्यतिबेला उनले ट्रम्पका विशेष दूत स्टिभ विट्कफलाई रूसले सम्पूर्ण थप भूभाग कब्जा नगर्ने तर ‘मूल कारण’ सम्बोधन हुनुपर्ने बताएका थिए।

ह्वाइट हाउसले ट्रम्प र पुटिनबीच भएको छलफलबारे प्रतिक्रिया दिन अस्वीकार गर्‍यो। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले फाइनान्सियल टाइम्ससँग भने, ‘एकदमै महत्त्वपूर्ण र सारगर्भित वार्ता भएको छ, जसले सम्झौता नजिक ल्याउन सक्छ। काम अझै जारी रहनेछ, तर तत्काल छलफलको विषय सार्वजनिक गर्न सकिँदैन।’

मस्को फर्केपछि पुटिनले क्रेमलिनका वरिष्ठ अधिकारीहरूको समूहलाई शिखर बैठक भ्रमण समयमै र उपयोगी भएको बताएका थिए। त्यसको भिडियो रुसका सरकार नियन्त्रित टेलिभिजनमा प्रसारण गरिएको छ। पुटिनले ट्रम्पलाई संकटका कारणहरू व्याख्या गरेको र कुनै पनि शान्ति सम्झौताले तिनलाई सम्बोधन गर्नुपर्ने बताएका थिए।

अमेरिकाको अलास्कामा शुक्रबार भएको बैठकमा ट्रम्पले पुटिनले युद्धविराम नमान्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। तर शिखर सम्मेलनबाट खाली हात फर्केर उनले युरोपेली नेताहरूलाई भूभाग त्याग्ने पुटिनका माग पुर्‍याएका छन्।

ट्रम्पले शनिबार सामाजिक सञ्जालमार्फत युरोपेली नेताहरूलाई पुटिनसँग युद्धविरामको प्रयास त्याग्न आग्रह गरे र जेलेन्स्कीलाई रूससँग सम्झौता गर्न सल्लाह दिएका छन्।

‘सबैको निष्कर्ष यो थियो कि रूस र युक्रेनबीचको यो भीषण युद्ध अन्त्य गर्ने उत्तम उपाय भनेको प्रत्यक्ष शान्ति सम्झौता हो, युद्धविराम मात्र होइन, जुन प्रायः टिक्दैनन्’, ट्रम्पले जर्मन चान्सलर फ्रिडरिख मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत युरोपेली नेताहरूसँग फोन वार्तापछि ट्रुथ सोसलमा लेखेका छन्।

सबै कुरा मिल्ने हो भने राष्ट्रपति पुटिनसँग बैठक तय गर्ने पनि उनले उल्लेख गरेका छन्। क्रेमलिनले भने पुटिन र ट्रम्पले अंकरेजमा जेलेन्स्कीसमेत सहभागी हुने त्रिपक्षीय बैठकबारे छलफल नगरेको जनाएको छ।

रूसी माग र ट्रम्पले युद्धविराममा जोड नदिनुले युरोपेली नेताहरूबीच फेरि चिन्ता बढाएको छ। अलास्का बैठकअघि अमेरिकी राष्ट्रपतिको ‘भूमि साटासाट’ को सम्भावना उठाउँदा उनीहरू आत्तिएका थिए।

तीन घण्टे बैठकले पुटिनलाई अन्तर्राष्ट्रिय एक्लोपनाबाट बाहिर निस्कने अवसर दिएको छ। ट्रम्पले अंकरेजमा रातो कार्पेट ओछ्याएर स्वागत गरे र वार्ता अघि हाँसोमजाक पनि गरेका थिए।

युरोपेली नेताहरूसँगको फोन वार्तामा फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले पुटिनलाई विश्वास गर्न नसकिने बताएका छन्। पुटिनले दशकअघिको मिन्स्क युद्धविराम सम्झौता कहिल्यै कार्यान्वयन नगरेको पनि म्याक्रोको भनाइ थियो।

‘पुटिन दीर्घकालीन खेल खेल्छन् र वाचा मान्दैनन्’, वार्ताबारे जानकार एक युरोपेली नेताले भने, ‘ट्रम्प छिट्टै सम्झौता गर्न चाहन्छन् तर पुटिनलाई त्यति हतार छैन।’

ट्रम्प-पुटिन शिखर बैठक: युक्रेन युद्ध अन्त्य गर्न असफल

ट्रम्प-पुटिन ‘असफल’ शिखर बैठकसम्बन्धी पाँच रोचक तथ्य

प्रकाशित: ३१ साउन २०८२ २२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast