स्वदेशमा लिग नहुँदा बंगलादेश लागे आठ फुटबल खेलाडी

हिमाल प्रेस ३० साउन २०८२ १७:२५
6
SHARES
स्वदेशमा लिग नहुँदा बंगलादेश लागे आठ फुटबल खेलाडी

काठमाडौँ- कप्तान किरण चेम्जोङसहित आठ नेपाली फुटबल खेलाडी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आबद्ध भएका छन्।  नेपालको शीर्ष पुरुष फुटबल लिग सहिद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग अनिश्चित बनेपछि उनीहरू विभिन्न बंगलादेशी क्लबमा अनुबन्धित भएका हुन्।

किरण र विंगर आयुष घलानले बंगलादेश पुलिस एफसीमा खेल्ने भएका छन् भने मिडफिल्डर अरिक बिष्ट, फर्वार्ड अञ्जन बिष्ट, मिडफिल्डर योगेश गुरुङ र डिफेन्डर सनीष श्रेष्ठ ब्रदर्स युनियनमा खेल्नेछन्। अनुभवी डिफेन्डर अनन्त तामाङ फोर्टिस एफसीमा अनुबन्ध भएका छन्। डिफेन्डर अभिषेक लिम्बूले रहमतगन्ज एमएफएसका लागि खेल्नेछन्।

बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले लिगका प्रत्येक ११ क्लबलाई पाँच विदेशी खेलाडी दर्ता गर्न अनुमति दिँदै आएको छ। जसमध्ये चार खेलाडीले सुरुवाती ११ मा नाम लेखाउन सक्नेछन्। हालैको नियम परिवर्तनअनुसार दक्षिण एसियाली फुटबल महासंघका सदस्य देशका खेलाडीहरू घरेलु कोटामा अनुबन्ध हुन सक्छन्। यस कारण नेपाली खेलाडीहरूको बंगलादेशी लिगमा आकर्षण बढेको हो।

बंगलादेश प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १९ मा सुरु हुँदै छ। यो लिग सन् २०२६ को अप्रिल २४ सम्म चल्नेछ। घरेलु फुटबल क्यालेन्डर अनिश्चित भएको र बंगलादेशी क्लबहरूले आकर्षक सुविधा दिने भएपछि खेलाडीहरू त्यसतर्फ अनुबन्धित भएका हुन्।

राष्ट्रिय लिग नभएका कारणले नयाँ सिजनको एएफसी च्यालेन्ज लिगमा कुनै नेपाली टोली छैन। अखिल नेपाल फुटबल संघले चर्च ब्वाइज युनाइटेडलाई च्याम्पियन घोषणा गरेको २६ महिना भइसके पनि पुरुष फुटबल लिग आयोजना गर्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast