‘जनै हराएको मान्छे’ धार्मिक फिल्म होइन, सामाजिक कथा हो : निर्देशक हिमाल न्यौपाने

हिमाल प्रेस ३० साउन २०८२ १५:४१ | Friday, August 15, 2025
‘जनै हराएको मान्छे’ धार्मिक फिल्म होइन, सामाजिक कथा हो : निर्देशक हिमाल न्यौपाने

काठमाडौँ-  फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को सुरुमा नाम ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ राखेको थियो ।

तर, निर्माणपक्षले केही समय अघि नाम परिवर्तन गर्‍यो। बाहुनका ठाउँमा मान्छे राख्यो। यस विषयमा हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिले अनावश्यक चासो र दबाब दिन थालेपछि नाम परिवर्तन गरेको निर्माणपक्षले प्रष्ट पारेको थियो ।

यद्यपि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ धार्मिक फिल्म नभएको निर्देशक हिमाल न्यौपानेले बताएका छन्। विषय र प्रसंगले जुरेको नामका आधारमा फिल्म नै धार्मिक हो कि भन्ने आंशका गरिएको उनको भनाइ छ।

‘हाम्रो फिल्म धार्मिक होइन। सामाजिक कथा हो । विषयसँग जोडेर जनै भन्ने शब्द राखिएकाे मात्रै हो,’ निर्देशक न्यौपानेले भने, ‘हामी क्रिएटिभ काम गर्ने मान्छे अनावश्यक झमेलामा फस्न चाहेनौँ। हामी काम गरौँ कि विभिन्न व्यक्ति र संस्थालाई बुझाउँदै हिँडौं भन्ने अभिप्रायले शब्द नै परिवर्तन गर्‍यौँ।’

सर्जकले आफूले चाहेको विषय र नाममा काम गर्न कसैले रोक्न नहुने उनको तर्क छ। यस्ता विषयले सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै यसमा सरकार चनाखो हुनुपर्नेमा उनको धारणा थियो।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। सम्बन्धका आयामकाे कथामा आधारित फिल्म आगामी भदौ ६ मा प्रदर्शन हुँदैछ। फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायत कलाकारको अभिनय छ।

सर्वाधिक हिट ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजयको मुख्य भूमिकामा यही फिल्म प्रदर्शन हुँदैछ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्।

प्रकाशित: ३० साउन २०८२ १५:४१ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast