बेइजिङमा नेपालको साहसिक दौडमार्गको प्रचार

अजय अलौकिक ३० साउन २०८२ १४:५९
10
SHARES
बेइजिङमा नेपालको साहसिक दौडमार्गको प्रचार

बेइजिङ– ‘तेन्जिङ हिलारी एभरेस्ट म्याराथन’ आयोजकले बिहीबार बेइजिङमा नेपालको साहसिक खेलका साथै समृद्ध सांस्कृतिक तथा प्राकृतिक सम्पदा र बुद्धभूमिको प्रवर्द्धनको उद्देश्यसहित एक कार्यक्रमको आयोजना गरेको छ। म्याराथनका परिकल्पनाकार विक्रम पाँडे काजीले सगरमाथाको बेसक्याम्पबाट सुरु हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथन सम्बन्धमा आकर्षक ढंगले स्लाइड सोसहित प्रस्तुति गर्दै उपस्थित उत्साही चिनियाँ खेलप्रेमीलाई विश्वको उच्चस्थानमा आयोजना हुने म्याराथनबारे जानकारी दिए।

तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका संस्थापक अध्यक्ष तथा पर्यटन व्यवसायी विक्रम पाँडे काजी नेपालका लागि ग्रिसेली अवैतानिक महावाणिज्यदूत पनि हुन्। उनले उक्त म्याराथन प्रतियोगिताका साथै जलवायु परिवर्तनविरुद्ध तथा प्रकृति संरक्षणको अभियानका लागि गरिँदै आएको कामबारे पनि जानकारी दिए।

विश्वकै सर्वाधिक उचाइमा आयोजना हुँदै आएको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेको वार्षिकोत्सवको उपलक्ष्यमा  सगरमाथा आधारशिविरबाट आयोजना हुने एक अन्तर्राष्ट्रिय उच्च उचाइको साहसिक खेल प्रतियोगिता हो।

विश्व प्रसिद्ध तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमार्फत नेपालको साहसिक पर्यटनका साथै नेपालको समृद्ध सांस्कृतिक, प्राकृतिक सम्पदा तथा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल क्षेत्रमा म्याराथन गराउँदै आएको सो संस्थाले चिनियाँ पर्यटक तथा साहसिक खेलप्रेमीहरूलाई यी साहसिक तथा आत्मिक रूटमा भाग लिन आग्रह गर्दै सो कार्यक्रमको आयोजना गरेको हो।

साथै महावाणिज्यदूत पाँडे काजीले बुद्धमूभि सम्बन्धित अरू म्याराथनका बारेमा पनि विस्तृत रूपमा गरिएको चर्चालाई उपस्थित चिनियाँहरूले चाखपूर्वक सुनेका थिए। विभिन्न चिनियाँ पर्यटन क्षेत्रका प्रतिनिधिहरू उपस्थित सो कार्यक्रममा उनले २५०० वर्षअघि लुम्बिनीमा बुद्ध जन्मिएको चर्चा गर्दै आमा मायादेवीको प्रसूतिमार्गबाट रानी मायादेवी प्रसूतिमार्ग म्याराथन एउटा आध्यात्मिक दौडको परिकल्पना गरेको सुनाए।

लुम्बिनीका सद्भावनादूतसमेत रहेका पाँडेले नेपाल चीन बीच शताब्दी पुरानो सम्बन्ध रहेको बताउँदै चिनियाँ भिक्षु स्वेन चाङको नाममा पुरस्कारसमेत दिने गरेको पनि बताए। लुम्बिनी पिस म्याराथनमा दोस्रो हुनेलाई चिनियाँ भिक्षु स्वेन चाङको नाममा पुरस्कृत गर्ने गरेको सुनाए।

उनले मायादेवी प्रसूतिमार्ग म्याराथन महिला बौद्धमार्गीका लागि परिकल्पना गरेको पनि बताए। उनले भने, ‘यो मार्ग मैले विशेषत महिला बौद्धमार्गीका लागि परिकल्पना गरेको हुँ तर यसको अर्थ यो होइन कि यो मात्र महिलाका लागि जोसुकै यो पदमार्गमा हिँडेर आफू इन्लाइटन हुन सक्छन्।’

यस ऐतिहासिक मार्गको प्रवर्द्धन गरेर पर्यटनसँगै लुम्बिनीको सांस्कृतिक जीवन्तता बढाउने तथा आध्यात्मिक म्याराथनका रूपमा अगाडि बढाउने आशा लिइएको छ।

बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा आयोजित कार्यक्रममा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले स्वागत गर्दै नेपालको सांस्कृतिक, प्राकृतिक सम्पदाको चर्चा सँगसँगै साहसिक खेलका लागि नेपाल उचित गन्तव्य भएको औँल्याए। चालु वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव हुनाका साथै चीनले सन् २०२५ लाई नेपाल पर्यटन वर्षको रूपमा मनाएको भन्दै चिनियाँलाई छिमेकी मुलुक नेपालको भ्रमण गर्न आग्रह गरे।

प्रकाशित: ३० साउन २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast