कुटपिटबाट अस्पताल भर्ना भएका युवकको डिस्चार्ज भएपछि मृत्यु

हिमाल प्रेस २७ साउन २०८२ २०:४३ | Tuesday, August 12, 2025
कुटपिटबाट अस्पताल भर्ना भएका युवकको डिस्चार्ज भएपछि मृत्यु

पोखरा- पाल्पाको रिब्दीकोट गाउँपालिका-७, पालुङ मैनादीमा एक जना युवकको कुटपिटका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा-७, कटहरबारीका ४० वर्षीय रामबहादुर अर्गाली हुन्। पेसाले सिकर्मी उनको अनाहकमा ज्यान गएपछि गाउँमा सन्नाटा छाएको छ।

सो घटनामा स्थानीय भपिन्द्रबहादुर खाम्चालाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध मृतकका परिवारले सोमबार किटानी जाहेरी दिएका हुन्।

घटना जनैपूर्णिमाको अघिल्लो दिन २३ साउनको हो। रामबहादुर फलामका सामान धार लगाउन भनी नजिकैको हार्थोकसम्म पुगेका थिए। दिउँसो गाडी चढेर घर फर्किए।

गाडीबाट ओर्लिसकेपछि खाजा खान भनी पसल छिरे। त्यत्तिकैमा उनीसहित भपिन्द्रसमेतले मदिरा सेवन गरे। आपसमा सामान्य विवाद हुन गयो र भपिन्द्रले निर्घात कुटपिट गरे।

कुटपिटबाट घाइते रामबहादुरलाई २ दिनपछि पाल्पा सदरमुकाम युनाइटेड मिसन अस्पताल लगियो। उपचारपछि आफूखुसी घर गएका उनको भोलिपल्ट राति साढे १ बजे घरमै मृत्यु भएको हो।

यसबारे प्रहरीलाई खबर भयो। इलाका प्रहरी कार्यालय, मुझुङ प्रहरी सहायक निरक्षिक र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली प्रारम्भिक अनुसन्धानका लागि खटियो। अनुसन्धानपछि शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको र कुटपिटमा संलग्न भपिन्द्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा अनुसन्धानका लागि राखिएको सूचना अधिकारी प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए।

प्रहरी निरीक्षक प्रधानले भने, ‘मापसे (मादक पदार्थ सेवन) भएको देखिन्छ। त्यत्तिकैमा सामान्य विवादमा रामबहादुरमाथि कुटपिट भएको देखिन्छ।’ उनका अनुसार मृतकको बाहिरी चोट नपाइएको, भित्री चोटका कारण ज्यान गएको अनुमान छ।

रिब्दीकोट-७ का वडाध्यक्ष दानबहादुर कुँवर (चन्द्र) ले गाउँमा अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गरे। स्थानीयवासी पूर्व शिक्षक शालिकराम नेपालका अनुसार ज्यान गुमाएका रामबहादुर अर्गालीलाई गाउँकै अब्बल सिकर्मीका रूपमा दाँजिन्थ्यो।

प्रकाशित: २७ साउन २०८२ २०:४३ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast