राष्ट्रियसभाका उपाध्यक्ष भन्छिन् : गाईजात्रे प्रदर्शन विकृतिका विरुद्ध गरिने प्रहसन हो

हिमाल प्रेस २५ साउन २०८२ ७:१९ | Sunday, August 10, 2025
राष्ट्रियसभाका उपाध्यक्ष भन्छिन् : गाईजात्रे प्रदर्शन विकृतिका विरुद्ध गरिने प्रहसन हो

काठमाडौँ- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताएकी छन् ।

नेवार समुदायमा मनाइने मौलिक सांस्कृतिक पर्व गाईजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।

गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइन्छ । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आदेश दिएकामा गाईजात्राको प्रचलन चलेको जनविश्वास रहिआएको छ ।

उपाध्यक्ष घिमिरेले भनिन्, ‘विकृतिका विरुद्ध गरिने प्रहसनले हामी सबैलाई सत्कर्ममा डोर्‍याउन प्रेरित गर्दै आएको छ तर यस्ता प्रहसन मुलुकको सार्वभौमसत्ता, अखण्डता, जातीय तथा लैंगिक विभेद तथा व्यक्तिगत प्रतिष्ठामा आँच नआउने बनाउन आग्रह पनि गर्दछु।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको पनि उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनिन्, “गाईजात्राले हामी सबैमा धार्मिक सहिष्णुता कायम गर्दै सकारात्मक सोचको विकास गर्न अहम् भूमिका खेल्नेछ र सत्मार्गमा लाग्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास छ ।”

प्रकाशित: २५ साउन २०८२ ७:१९ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast