बुटवलमा नहरमा खसेका युवक चार दिनदेखि बेपत्ता

हिमाल प्रेस २० साउन २०८२ १६:५१
40
SHARES
बुटवलमा नहरमा खसेका युवक चार दिनदेखि बेपत्ता

बुटवल- बुटवल उपमहानगरपालिका–११ न्यू दुर्गा नगरका अनिल दमाई (जुठे दमाई) नहरमा खसेर चार दिनदेखि बेपत्ता भएका छन्। शुक्रबार राति करिब साढे ८ बजे न्यू दुर्गा नगरबाट नहरपुर जाँदै गर्दा तिनाउ नदीबाट मोतिपुरतर्फ जाने कुलोमा उनी मोटरसाइकलसहित खसेका थिए।

स्थानीय प्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी जारी राखे पनि अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। खोजतलासमा खटिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले मोटरसाइकल भेटिए पनि व्यक्ति अझै नभेटिएको जानकारी दिए।

नहरमा आएको बाढीका कारण दमाई बगेको अनुमान गरिएको छ। घटनास्थल नजिकै उनको मोटरसाइकल फेला परेको भएपनि उनी स्वयंको अवस्थाबारे अझै केही पुष्टि हुन सकेको छैन।

बुटवल–११ का वडा सदस्य नहकुल शाहीका अनुसार नहरको पानी बन्द गराएर समेत खोजी गरिएको थियो। उनले सामाजिक सञ्जालमार्फत तिनाउ नदीबाट आउने कुलो समयमा बन्द गर्न नसक्दा खोजी कार्यमा थप जटिलता आएको बताए।

चार दिनसम्म पनि अवस्था अज्ञात रहेपछि दमाईका आफन्तहरू चिन्तित र अतालिएका छन्। उनीहरूको खोजी कार्यमा स्थानीयवासीहरूको सहयोग जारी रहेको छ।

प्रकाशित: २० साउन २०८२ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast