बागमती प्रदेश : देउवाको हस्तक्षेपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

हिमाल प्रेस १६ साउन २०८२ १७:२८
150
SHARES
बागमती प्रदेश : देउवाको हस्तक्षेपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि लामाले राजीनामा दिन लागेका हुन्। मुख्यमन्त्री लामाले बिहीबार पार्टी सभापति देउवालाई भेटेका थिए। भेटका क्रममा देउवाले उनलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन्।

मुख्यमन्त्री लामाले शनिबार पदबाट राजीनामा दिने उनीनिकट प्रदेशसभा सदस्य तीर्थ लामाले जानकारी दिए। ‘सभापतिले मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिनु भएको छ। उहाँले भोलि राजीनामा दिनुहुन्छ,’ प्रदेश सांसद लामाले हिमालप्रेससँग भने।

बागमती प्रदेश संसदीय दलsf नेताका रूपमा एकवर्षे कार्यकाल बिताएका उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको थियो। बागमती प्रदेशसभामा रहेका ३७ मध्ये कांग्रेसका २२ जनाले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। संसदीय दलका नेताका लागि भएको निर्वाचनमा लामा इन्द्र बानियाँसँग पराजित भए। बुधबार भएको निर्वाचनमा बानियाँका पक्षमा २२ मत खस्दा मुख्यमन्त्री लामाले १४ मत पाए। एक मत बदर भएको थियो।

संसदीय दलको नेतामा पराजित भएपछि लामाले मुख्यमन्त्री पदबाट सहजै राजीनामा दिएर बानियाँका लागि मार्गप्रशस्त गर्ने अनुमान गरिएको थियो। तर उनले आफू संविधानको धारा १६८ को उपधाराबमोजिम मुख्यमन्त्री नियुक्त भएको भन्दै राजीनामा नदिने अडान राखेका थिए। उनले कांग्रेसको आन्तरिक विवादकै बीच बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर स्वास्थ्यको कारण देखाउँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अनुपस्थित भएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।

लामाले पदबाट राजीनामा नदिने अडान लिएपछि संसदीय दलको नेतामा निर्वाचित बानियाँलाई मुख्यमन्त्री बन्न सकस परेको  थियो।

कांग्रेस सभापति देउवा आफैँले हस्तक्षेप गरेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका हुन्। उनको राजीनामा आउने भएपछि नवनिर्वाचित कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा सरकार बनाउन गृहकार्य थालिएको कांग्रेस नेतारहरूले बताएका छन्।
कांग्रेस प्रदेशसभा संसदीय दलको विधानले सरकारको नेतृत्व गर्न दलको नेता हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। ‘पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताको हैसियतमा सरकार नेतृत्व प्रदान गर्ने,’  प्रदेश संसदीय दलको विधानको दफा ६ को उपदफा १० मा उल्लेख छ।

संसदीय दलको नेतामा निर्वाचित बानियाँलगायतका अन्य नेताहरूले विधानको यही व्यवस्था देखाएर मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन दबाब दिइरहेका थिए। सभापति देउवाले पनि विधानको व्यवस्थाअनुसार पदबाट राजीनामा दिन लामालाई निर्देशन दिएको बताइएको छ।

नेकपा एमालेसँग गठबन्धन गरेको कांग्रेसको भागमा बागमती प्रदेश सरकारको नेतृत्व परेको छ। बागमती कांग्रेसभित्र देखिएको समस्याका विषयमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफलसमेत भएको थियो।

कांग्रेसभित्र बागमती सरकारको नेतृत्वलाई लिएर विवाद चलिरहँदा एमाले प्रदेश संसदीय दलले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने जनाएको थियो। बागमती कांग्रेसको विवाद मिलाउने जिम्मेवारी पाएका कांग्रेस नेता राजेन्द्रकुमार केसीले पनि शनिबारसम्म सबै समस्या समाधान हुने बताए। उनले मुख्यमन्त्री लामाले राजीनामा दिएर मार्गप्रशस्त गर्ने उल्लेख गरे।

‘पार्टीमा आबद्ध भएपछि विधान नमानेर हुन्छ? विधान सबैले मान्नैपर्ने हुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ।’ नेता केसीले मुख्यमन्त्री लामाले दिइसकेपछि संसदीय दलका नेता बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast