
काठमाडौँ– सिटामोल ज्वरो आउँदा वा जिउ दुख्दा खाइने सामान्य औषधी हो। यही नाममा राजबहादुर सानेले सुदूरपश्चिमको कथा समेट्दै फिल्म बनाएका छन्। फिल्म यही साउन २३ देखि हलमा लाग्दै छ।
आमनेपालीको समस्या केन्द्रित गर्दै बिम्बका रूपमा फिल्मको नाम ‘सिटामोल’ राखेको निर्देशक साने बताउँछन्। जसरी ज्वरो आउँदा सिटामोलले काम गर्छ त्यसरी नै ग्रामीण भेगका मानिसको कथाको प्रतिनिधित्व फिल्मले गर्नेमा उनी ढुक्क छन्।
युट्युबबाट सार्वजनिक फिल्मका प्रचारसामग्री टिजर, गीत, ट्रेलर र पोस्टरलाई दर्शकले रूचाएका छन्। फिल्ममा समावेश गीत ‘मुटुभित्र खिल छ हजुर’, ‘झुम्का कानैमा’ पनि धेरै हेरिएका छन्। ‘झुम्का कानैमा’ गीत कर्णाली भेगमा प्रचलित हुड्के नृत्य र डेउडा र लोक शैली मिश्रित छ। त्यस्तै ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीतले फिल्मको विषयवस्तु र पात्रको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यिनै सामग्रीबाट आएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम फिल्म सफल हुनेमा ढुक्क छन्।
फिल्मको कथा सुदूरपश्चिमको परिवेशमा आधारित रहेको निर्देशक सानेको भनाइ छ। यद्यपि कतिपयले फिल्म जनयुद्धबाट प्रभावित हो कि भन्ने अनुमान पनि गरेका छन्।
फिल्म जनयुद्धको कथा र परिवेशमा आधारित नरहेको निर्देशक सानेको स्पष्टीकरण छ। उनले भने, ‘सिटामोललाई हामीले बिम्बका रूपमा प्रस्तु गरेका हौँ। फिल्म सुदूरको कथामा आधारित छ। त्यहाँमा मानिसले भोगेका समस्या हामीले उठाएका छौँ। यसलाई माओवादीको कथा पनि भन्न मिल्दैन। जनयुद्धको परिवेश पनि होइन। उपत्यका बासीलाई कथाले नछुन सक्छ तर फिल्मले गाउँका मानिसको पीडा बोलेको छ। त्यसकारण यो युद्धको नभएर आम मानिसको कथा हो,’ उनले भने।
फिल्मले ग्रामीण परिवेशसँगै स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण अनि सामाजिक विभाजनजस्ता विषय समेटेको निर्देशक सानेको दाबी छ। फिल्मको ट्रेलरमा पनि नेपाली समाजमा देखिने पारिवारिक झमेला, व्यक्तिगत संघर्ष, गरिबी, बेरोजगारी, सरकारी लापरवाहीजस्ता विषय मुख्य रूपमा देखिएको छ।
कर्णालीको कथामा बनेका प्रायः फिल्मले त्याहाँका दुःख देखाउने र गरिबी बेचिरहेको भन्ने आरोप पनि लाग्ने गरेको छ। यसर्थमा निर्देशक सानेले समस्या उठाउँदा सम्बन्धित निकायको ध्यान जान सक्ने भएकोले फिल्म बनाएको तर्क गरे। ‘हामीले फिल्ममार्फत गरिबी बेच्न खोजेको होइन। समस्या उठाएर समाधान गर्न खोजेको हो,’ उनले भने।
फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल छन्। उनीहरू फिल्ममा पतिपत्नीको भूमिकामा देखिएका छन्। प्रेमी, हुँदै पतिपत्नी बनेका सौगात र बेनिशाको नोकझोकसहित सम्बन्धमा आउने उतारचढाव पनि ट्रेलरमा समेटिएको छ।
अभिनेत्री बेनिशाले ‘सिटामोल’ लाई सत्य घटनामा आधारित फिल्म भनेकी छन्। उनले सुदूरपश्चिम भेगका आममानिसको कथा फिल्मले समेटेको र सन्देशमूलक रहेको बताएकी छन्। सम्बन्धमा हुने मनमुटाव र आउने उतारचढाव न्यूनीकरण गर्न ‘सिटामोल’ ले बलियो भूमिका खेल्नेछ भन्नेमा अभिनेत्री बेनिशा पनि विश्वस्त छिन्।
‘फिल्म भनेको मनोरञ्जनको लागि हेर्ने हो। मनोरञ्जनसँगै केही सन्देश पनि भनिरहेको हुन्छ। हाम्रो फिल्मले ग्रामीण भेगको कथासहित समस्या र पीडा पनि बोलेको छ,’ उनले भनिन्। फिल्ममा उनी गाउँले चरित्रमा देखिएकी छन्। सुदूरपश्चिमकी महिला। त्याहाँमा नारीको समस्यालाई पनि उनको चरित्रले बोलेको उनले खुलाइन्। कम उमेरमै विवाह गर्ने, छिट्टै सन्तान जन्माउनेजस्ता महिलाका समस्या उनले त्याहाँ देखेको बताइन्। सुटिङका क्रममा उनले गाउँमा मोटरबाटो, खानेपानी, उचित शिक्षालगायत विविध समस्या देखेको उल्लेख गरिन्।
‘कर्णालीका दुःख मात्र होइन हाम्रो फिल्ममा समस्यासँगै समाधानको पाटो पनि समेटिएको छ। मेरो क्यारेक्टर च्यालेन्जिङ छ। विवाह अघि र पछि मेरो चरित्रको मनस्थिति पनि धेरै फरक पाउनुहुनेछ’, उनले भनिन्।
फिल्ममा मुख्य अभिनेता सौगात मल्लले पनि फिल्म पैसाको मोह र सम्बन्धको उतारचढावसँग सम्बन्धित रहेको बताएका छन्। उनी सिटामोलले सम्बन्धमा देखिने उतारचढावलाई निको पार्न सक्छ भन्नेमा विश्वस्त छन्।
ट्रेलरमा उनी कुनै दुर्घटनापछि बैसाखी टेकर, काठमा घिँस्रेर हिँडेको देखाइएको छ। जुन क्लिप्स सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ। यसअघिको दुई फिल्ममा वैशाकी टेकेर हिँड्ने पात्रको अभिनय गरिसकेकाले आफूलाई उक्त पात्रको मनोविज्ञान बुझ्न त्यति गाह्रो नभएको अभिनेता मल्लले सुनाए।
‘फेस्टिभलका फिल्ममा यस्तो चरित्र गरिसकेको थिए। पहिले धेरै अनुभव गर्न पाएकोले त्यति गाह्रो भएन। पहिले गाउँमा पनि देखिरहेको थिए,’ उनले भने। फिल्मको संवाद गहकिलो भएर पनि आफूलाई अभिनय गर्न सहज लागेको उनको अनुभव छ। तर सुटिङ सकिसकेपछि भने उनलाई वैशाकीको अनुभूतिले नछोडेको सुनाए। ‘बैसाखीसँग यति नजिक भइएछ कि धेरै पछि सम्म पनि हाउभाउ त्यही जाने रहेछ। यतै कतै छ कि भन्ने पछिसम्म लागिरहन्थ्यो’, उनले भने।