
काठमाडौँ- समाजवादी मोर्चाले देशमा जनताको बढ्दो निराशा र आक्रोशको अवस्था सम्बोधन गर्न समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले देशको विद्यमान परिस्थितिलाई समाजवादी मार्गमा डोऱ्याउन ठोस पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘देश एक अप्रिय र निराशाजनक स्थितितर्फ जाँदैछ। यस अवस्थामा समाजवादी मोर्चाले समाजवादी दिशा तय गर्न आवश्यक छ। अन्य दल र समूहसँग बहस र छलफल गर्दै देशलाई त्यो दिशामा लैजाने निर्णय गरिएको छ।’
बैठकले भदौको अन्त्यतिर देशव्यापी कार्यक्रम सञ्चालन गर्ने र त्यसअन्तर्गत जनसंघर्ष तथा अन्तरक्रिया कार्यक्रमलाई तीव्रता दिने निर्णयसमेत गरेको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता वामदेव गौतम, नेता घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत थिए।