पदको लोभले म पार्टीमा आबद्ध भएको हैन : विद्या भण्डारी

हिमाल प्रेस ९ साउन २०८२ १६:०३ | Friday, July 25, 2025
पदको लोभले म पार्टीमा आबद्ध भएको हैन : विद्या भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै पदमा पुग्ने लोभले सक्रिय राजनीतिमा संलग्न नभएको स्पष्ट पारेकी छन्। उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त कुरा बताएकी हुन्। उनले भनिन्, ‘मुलुकको सर्वोच्च पद राष्ट्रपति भएर मैले इतिहासमा नाम दर्ज गराइसकेकी छु।’

कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा, आशक्ति आफूमा नरहेको पनि उनले बताइन्।

सदस्यता नवीकरण गर्नुको उद्देश्य पनि नेकपा एमालेमा आबद्ध भएर सक्रिय रहनु रहेको उनले बताइन्। उनले पार्टी सदस्यता नवीकरण गरेको विषय असार १४ गते नै सार्वजनिक गरेको पनि बताइन्। उनले भनिन्, ‘नेकपा एमालेका केन्द्रीय समितिसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यताका विषयमा सञ्चारमाध्यमबाट थाहा पाएँ।’ उनले आफ्नो पार्टी सदस्यताका विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण छलफल भएको जानकारी दिइन्।

भण्डारीले आफूले साथै उनले आफ्नो सदस्यताका नवीकरण र पार्टीमा आफ्नो जिम्मेवारीबारेमा अन्य नेताहरूसँग पटकपटक कुराकानी हुँदै आएको पनि बताइन्। उनले भनिन्, ‘मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिवत् ढंगले सदस्यता नवीकरण गरेको, यसै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको थिएँ।’ उनले पार्टीले आफ्नो सदस्यता नवीकरण नगेरको विषयमा पार्टी बैठकले निर्णय गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताइन्।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।’ आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरी राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प लिएको भण्डारीको भनाइ छ।

भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्र होइन आफ्नो बाँकी जीवन पार्टीमा लगाएर देश र जनताको सेवा गर्ने निर्णयमा म पुगेको हुँ। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल र सुदृढ बनाउने, एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने हो।’

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिमा आबद्ध हुने अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भण्डारीको भनाइ छ। उनले आफूलाई राजनीतिमा आबद्ध हुने संविधानको कुनै धाराले पनि नरोक्ने पनि स्पष्ट पारिन्।

प्रकाशित: ९ साउन २०८२ १६:०३ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast