अर्जेन्टिनाबाट झन्डै एक खर्बको सामान आयात!

हिमाल प्रेस ८ साउन २०८२ १७:५९ | Thursday, July 24, 2025
अर्जेन्टिनाबाट झन्डै एक खर्बको सामान आयात!

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको नाम सुन्नेबित्तिकै धेरै नेपालीलाई फुटबल खेलाडी डिएगो म्याराडोना वा लियोनेल मेस्सीको जादु सम्झना आउँछ। फुटबलको चमकपछाडि अर्को चकित पार्ने व्यापारिक यथार्थ लुकेको छ नेपाल र अर्जेन्टिनाबीच। पछिल्ला वर्षमा नेपालले अर्जेन्टिनाबाट ठूलो परिमाणमा सामान आयात गरेको विवरण भन्सार विभागले सार्वजनिक गरेको हो।

गत आर्थिक वर्ष २०८१/८२ को आयात हेर्दा अर्जेन्टिना नेपालका लागि भारत र चीनपछि तेस्रो ठूलो आयात बजारका रूपमा उदाएको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ नेपालले अर्जेन्टिनाबाट झन्डै ९९ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। जुन आर्थिक वर्ष २०८०/८१ को तुलनामा आठ गुणा बढी हो। नेपालले उक्त आवमा अर्जेन्टिनाबाट १२ अर्ब ३८ करोड रुपैयाँको सामान आयात गरेको थियो।

नेपालले आर्थिक वर्ष २०८१/८२ मा अर्जेन्टिनातर्फ ३३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। जसका कारण ९९ अर्ब २९ करोड रुपैयाँको व्यापार घाटा भएको छ।

अर्जेन्टिनाबाट कृषि उत्पादन र कच्चा तेल आयात भएका छन्। ती वस्तुको माग नेपालको आन्तरिक उद्योग र उपभोक्तासम्म रहेको छ। अर्जेन्टिनाबाट सबैभन्दा धेरै कच्चा सोयाबिन तेल आयात भएको छ। गत आवमा ८८ अर्ब ९१ करोड रुपैयाँको सोयाबिन तेल आयात भएको विभागको तथ्यांक छ। यो अर्जेन्टिनाबाट कुल आयातको झन्डै ९० प्रतिशत हो। त्यसपछि आठ अर्ब ८९ करोड रुपैयाँ बराबरको कच्चा सनफ्लावर (सूर्यमुखी) तेल आयात भएको छ।

नेपालले आव २०८१/८२ मा भारततर्फ एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबरको प्रशोधित सोयाबिन तेल र १२ अर्ब ३२ करोड रुपैयाँ बराबरको प्रशोधित सनफ्लावर तेल निर्यात गरेको छ।

आव २०८१/८२ मा नेपालले अर्जेन्टिनाबाट एक अर्ब ४२ करोड रुपैयाँ बराबरको एक करोड ५० लाख किलोग्रामभन्दा बढी मकै आयात गरेको छ। यसैगरी ३८ करोड ४० लाख रुपैयाँको तीन लाख ६७ हजार किलोग्राम बोडी, एक करोड रुपैयाँको ८८ हजार किलोग्राम काबुली चनाका साथै केही परिमाणमा राजमा, मकैको बिउ र फ्रेस चेरी पनि आयात भएको विभागको विवरणमा उल्लेख छ।
अर्जेन्टिनाबाट नेपाली बजारमा मदिरा, सौन्दर्य सामग्री, पर्फ्युम, स्वास्थ्य प्रयोगशालाका सामग्री, ऊन, मेकानिकल पार्ट्स पनि आएका छन्।

पछिल्ला वर्षहरूमा नेपाल अर्जेन्टिनाको व्यापारिक साझेदारका रूपमा देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ मा आयात ४१ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८/७९ मा थोरै घटेर ३९ अर्ब ६५ करोड पुग्यो। त्यसपछि दुई वर्षमा तीव्र गिरावट आई आयात २०७९/८० मा २४ अर्ब ८६ करोड र २०८०/८१ मा घटेर १२ अर्ब ३८ करोडमा झर्‍यो। तर सन् २०८१/८२ मा एकाएक वृद्धि भई आयात सबैभन्दा धेरै ९९ अर्ब २९ करोड रुपैयाँमा पुगेको छ।

प्रकाशित: ८ साउन २०८२ १७:५९ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast