चुरे दोहन रोक्न गम्भीर होऔँ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ७ साउन २०८२ १५:१९ | Wednesday, July 23, 2025
चुरे दोहन रोक्न गम्भीर होऔँ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताएका छन्।

बुधबार जनकपुरस्थित नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको पानीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए। मन्त्रिपरिषद् बैठकले मधेशमा देखिएको पानीको समस्या समाधानका बारेमा केही ठोस् निर्णय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताए। उनले भने, ‘एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन। हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ। अस्वस्थ प्रतिस्पर्धाले कसैलाई राम्रो गर्दैन।’

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको संगठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड दिए। कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पार्टी बलियो बनाउनुपर्ने बताए।

धनुषामा सहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका (रामसीता विवाह मण्डप) र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्नु सिंह त्यसतर्फ गएका हुन्।

प्रकाशित: ७ साउन २०८२ १५:१९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast