रवीन्द्र भट्टराईको सम्पादकत्वमा ‘कानुनी शब्दकोश’ प्रकाशित

हिमाल प्रेस ७ साउन २०८२ १०:५६ | Wednesday, July 23, 2025
रवीन्द्र भट्टराईको सम्पादकत्वमा ‘कानुनी शब्दकोश’ प्रकाशित

काठमाडौँ- नेपाल कानुन आयोगले आफ्नो पछिल्लो प्रकाशन ‘कानुनी शब्दकोश’ सार्वजनिक गरेको छ। कानुन आयोगको नयाँ बानेश्वरस्थिति सभाकक्षमा कानुनी शब्दकोश विमोचन कार्यक्रम आयोजना गरी शब्दकोश सार्वजनिक गरिएको हो।

आयोगका अध्यक्ष जागेश्वर सुवेदी, उपाध्यक्ष प्रा.डा. लक्ष्मीप्रसाद मैनाली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव (कानुन) फणीन्द्र गौतम, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराशर ढुंगाना, कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ र सम्पादक रवीन्द्र भट्टराईले सामूहिक रूपमा शब्दकोश विमोचन गरेका थिए।

शब्दकोशमा कानुन र न्याय क्षेत्रमा बहुप्रचलित शब्द, नेपाल कानुन अर्थात् विभिन्न ऐन र नियमावलीमा पारिभाषिक रूपले प्रयोग गरिएका शब्द र पदावलीहरूको प्रविष्टि छ। झन्डै सात हजार शब्द वा पदावलीको प्रविष्टि रहेको सो शब्दकोशमा पदपदावलीको अंग्रेजी रूपान्तर र प्रयोजनपरक कानुनी अर्थ समेटिएको छ।

विमोचन कार्यक्रममा मन्तव्य राख्दै आयोगका उपाध्यक्ष प्रा.डा. मैनालीले शब्दकोशको लेखन र सम्पादनको काम बौद्धिक कामहरूमा पनि सबैभन्दा कष्टसाध्य रहने बताए। उनले यो शब्दकोशले नेपाली कानुनी वाङ्मयमा एक कोसेढुंगाको काम गर्ने बताए।

आयोगका अध्यक्ष सुवेदीले शब्दकोश उपयोग गरेर धेरैले कानुनी क्षेत्रमा असल भूमिका खेल्न सक्ने भएकाले यो प्रकाशन आयोगका प्रकाशनमा पनि विशेष महत्त्व राख्ने बताए। उनले शब्दकोश अदालत तथा न्याय कानुनका क्षेत्रमा कार्यरत निकाय र प्रतिष्ठानहरूका पुस्तकालयलाई उपलब्ध गराउने आयोगको योजना रहेको पनि बताए।

प्रकाशित: ७ साउन २०८२ १०:५६ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast