इटहरीमा खोलामा डुबेर दुई बालकको ज्यान गयो

हिमाल प्रेस ४ साउन २०८२ १७:२२ | Sunday, July 20, 2025
इटहरीमा खोलामा डुबेर दुई बालकको ज्यान गयो प्रतीकात्मक तस्बिर।

इटहरी– इटहरी उपमहानगरपालिका–२ मा आइतबार दिउँसो खोलामा डुबेर दुई बालकको ज्यान गएको छ। इटहरी–२ स्थित सुकल्प भवननजिकको टेङ्ग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

दिउँसो २ः५० बजेतिर डुबिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्काल खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवै बालकलाई उद्धार गरी विराट टिचिङ अस्पताल पठाइएको थियो।

तर उपचारका क्रममा दिउँसो ४ बजेतिर उनीहरूको मृत्यु भएको अस्पतालले पुष्टि गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। मृत्यु हुनेमा संखुवासभा चैनपुर–१ घर भई हाल इटहरी–२ मा सानिमाको घरमा बस्दै आएका ११ वर्षीय क्रिवास लिम्बू र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन्।

‘पौडी खेल्ने क्रममा घाइते भएको जानकारी आएपछि प्रहरीले उद्धार गरी उपचारका लागि पठाए पनि अस्पतालले मृत्यु भएको पुष्टि गरेको छ,’ डीएसपी भण्डारीले भने।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ४ साउन २०८२ १७:२२ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast