
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले संविधानको सुरक्षाका लागि सरकारले काम गरिरहेको बताएका छन्। राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको शान्ति सुरक्षासम्बन्धी छलफलमा उनले संविधानको रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
सुरक्षामा तीन चुनौती रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसको सामनाका लागि मन्त्रालयले मातहतका निकायलाई समन्वयात्मक परिचालन गरिरहेको जानकारी गराए। लागुऔषध, सडक दुर्घटना र आत्महत्याका विषय अहिलेको तीन सुरक्षा चुनौतीका रूपमा रहेको उनले बताए। लोकतन्त्र र विकासका लागि शान्ति, सुरक्षा आधारभूत विषय भएको गृहमन्त्री लेखकको भनाइ छ।
‘सीमा सुरक्षाका विषयमा सरोकार भएका निकायसहितको बैठक यसै महिनामा भारतसँग गर्नेगरी तयारी भएको छ, यो बैठक समस्या समाधानका लागि सहयोगी हुने आशा गरिएको छ,’ उनले भने।
प्रहरी अहिलेसम्म नियमावलीकै आधारमा चलिरहेकामा अब ऐन बनाउन लागिएको गृहमन्त्री लेखकले बताए। छाउपडी प्रथाका कारण हुने समस्या समाधानका लागि स्थानीय तहले नै पहल गर्नुपर्ने उनको भनाइ थियो।
कानुनअनुसार चालु आर्थिक वर्षमा छुट्याइएको बजेटबाट प्रहरीका लागि आवश्यक हतियार खरिद गरिने जानकारी पनि उनले दिए।
सुरक्षाका लागि पूर्वाधार निर्माण र हतियार खरिद दुवै आवश्यक भएको मन्त्री लेखकले बताए। ‘भिजिट भिसा’ का सम्बन्धमा उच्चस्तरीय समितिले दिने सुझावका आधारमा नीतिगत सुधार गर्न सरकार तयार रहेको जानकारी पनि उनले बैठकमा गराए।
समिति सभापति सोनाम गेल्जेन शेर्पाले शान्ति सुरक्षाका विषयमा भएका विभिन्न समस्या समाधानका लागि सरोकार भएका सबै निकायलाई बोलाएर बैठक गरिएको जानकारी दिए।
बैठकमा सांसदहरू जगप्रसाद शर्मा, उदयबहादुर बोहरा, मोहम्मद खालिद, इन्दिरादेवी गौतम, दुर्गा गुरुङ, विष्णुकुमारी सापकोटा, नारायणदत्त मिश्र, राजेन्द्रलक्ष्मी गैह्रे, गोपीबहादुर सार्की, किरणबाबु श्रेष्ठ, शेखरकुमार सिंहलगायतले शान्ति, सुरक्षा एवं विपद्ले पारेका समस्याका बारेमा गृह प्रशासनको ध्यानाकर्षण गराएका थिए।
गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले कारागारमा उद्यम केन्द्र स्थापना गरी योग, ध्यान शिविरका साथै मनोपरामर्श पनि दिएर सत्मार्गमा लाग्ने वातावरण बनाइएको जानकारी गराए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित गर्ने काम मन्त्रालयको मात्र नभएको उनले बताए।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले विसं २०७६ पछि प्रहरीको दरबन्दी थप नहुँदा काममा अप्ठ्यारो भएको जानकारी गराएका थिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रको सुरक्षाका लागि सरोकार भएका निकायसँग समन्वय गरी काम गरिरहेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले गत साता रसुवामा भएको बाढी एवं त्यसबाट पुगेको क्षतिका बारेमा जानकारी गराएका थिए।