 
                             
                                            यूएई- गैरआवासीय नेपाली संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजनामा तथा नेपाली दूतावास अबुधाबीको संरक्षकत्वमा ‘सुरक्षित आप्रवासन सम्बन्धी सचेतना तथा श्रमिक संवाद कार्यक्रम’ दुबईमा गरिएको छ।
कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार, कानुनी सुरक्षा, तथा वैदेशिक रोजगारीमा अपनाउनु पर्ने सावधानीसम्बन्धी विस्तृत जानकारी दिइएको थियो। साथै श्रमिकहरूले भोगेका समस्याहरू प्रत्यक्ष रूपमा राख्न पाउने र सरोकारवाला निकायबाट समाधानका उपायहरूसमेत पाउन सक्ने अवसर प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली राजदूत तेज बहादुर क्षेत्री, नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारी, श्रम काउन्सेलर दिपेन्द्र पौडेल, प्रथम सचिव तिल बहादुर सुनार र श्रम सहचारी पंकज लाभ कर्णसहित कूटनीतिक टोलीको उपस्थिति थियो। उनीहरूले श्रमिकहरूका समस्या, सामाजिक सुरक्षा, पासपोर्ट तथा कन्सुलर सेवाहरू लगायतका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
दुबई पुलिसका लेफ्टिनेन्ट मैथा मोहम्मद मेजर अलि र सार्जेन्ट यार मोहम्मद कसिमले यूएईमा श्रमिकहरूले पालना गर्नुपर्ने कानुनी मापदण्ड र सुरक्षा व्यवहारका बारेमा जानकारी दिएका थिए। साथै ‘पुलिस आई’ एप प्रयोग गर्न आग्रह गरेका थिए। यसले श्रमिकलाई आफ्नो समस्या तत्काल जानकारी गराउन र सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने बताइएको थियो।
कार्यक्रममा सहभागी श्रमिकहरूले प्रत्यक्ष रूपमा समस्या राखेका थिए भने दूतावासका प्रतिनिधिहरूले समाधानका उपायहरू पनि सुझाएका थिए। श्रमिकहरूको सुझाव तथा गुनासाहरू गैरआवासीय नेपाली संघ र नेपाली समाज यूएईका अध्यक्षहरूले संकलन गरी सम्बन्धित अधिकारीहरूलाई बुझाइएको थियो।
आगामी दिनमा राजदूतावासको आधिकारिक फेसबुक पेजमार्फत ‘श्रमिकसँग संवाद’ शीर्षकमा लाइभ कार्यक्रम सुरु गरिने जानकारी पनि राजदूत क्षेत्रीले दिएका थिए।
कार्यक्रमले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूमा सचेतना फैलाउन, श्रमिक र सरकारी निकायबीच समन्वय सुदृढ गर्न तथा सुरक्षित, मर्यादित र जानकारीमूलक आप्रवासनको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 