भारतीय सहयोगमा अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवन बनाइँदै

हिमाल प्रेस ३१ असार २०८२ १९:०७ | Tuesday, July 15, 2025
भारतीय सहयोगमा अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवन बनाइँदै

काठमाडौँ- भोजपुरको अरुण गाउँपालिकामा निर्माण हुन लागेको ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को आज (मंगलबार) शिलान्यास गरिएको छ। अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्री र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको सो भवनको लागत करिब ३ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको छ। भवन तीनतले, हुनेछ जसमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कोठा, कार्यक्रम हल तथा छात्र-छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय लगायतका आवश्यक संरचनाहरू समेटिनेछन्।

अध्यक्ष खत्रीले भारत सरकारबाट नेपालको विकासमा भइरहेको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै उक्त भवनले शैक्षिक तथा सांस्कृतिक पूर्वाधारको सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सन् २००३ यता भारतले नेपालमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनमा ल्याएको छ, जसमा ९३ वटा कोशी प्रदेशमा छन्। साथै भारत सरकारले नेपालभर १०४९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ। भोजपुर जिल्लामा मात्रै सातवटा एम्बुलेन्स र एउटा स्कुल बस प्रदान गरिएको छ।

भारत र नेपालबीचको ऐतिहासिक, भौगोलिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले भारत सरकारले प्राथमिकताका क्षेत्रमा नेपालसँग सहकार्य गर्दै आएको जनाएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले स्थानीय जनस्तरमा प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित: ३१ असार २०८२ १९:०७ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast