रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

हिमाल प्रेस ३० असार २०८२ १४:०७ | Monday, July 14, 2025
रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक प्रतिनिधिसभा बैठकमा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङ्देन समसामयिक विवादका सम्बन्धमा धारणा राख्दै। तस्बिर‍ : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न समय दिएका थिए।

सांसद चौधरीले अहिलेको सत्ता संरचना भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवज हो भन्दै प्रश्न गरे। मानव तस्करीविरुद्ध ४७ दिनदेखि आवाज उठाउँदै आएको भन्दै उहाले स्पेन घटनाले भिजिट भिसा प्रकरण कति गहिरो छ भन्ने देखाएको बताए।

चौधरीले घुसको डिल गर्ने, मानव तस्करी गर्ने मन्त्रीहरुलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसैले नदिएको जिकिर गरे। उनले घुसको डिल गर्ने मन्त्रीहरुलाई तत्काल कारबाही गर्न माग गरे।

बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको सुशासन आयोग कहाँ छ भनेर प्रश्न गरे। उनले भने, ‘त्यसलाई आजजनता र देशले खोजिरहेका छन्।’

यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई संरक्षण गरिरहेको आरोप लगाए। उनले भने, ‘मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ। नैतिकता छ भने सुशासनप्रति अलिकति मात्रै पनि प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा आउनुपर्ने हो कि होइन? मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने हो कि होइन?’

आफ्ना मागको सुनुवाइ नभएको भन्दै रास्वपाका सांसदहरुले सोमबार पनि सदन बहिष्कार गरेका छन्।

प्रकाशित: ३० असार २०८२ १४:०७ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast