‘माग्ने राजा’ ले राजनीतिसहित परिवार र प्रेमकाे कथालाई पनि उठाएको छ : वर्षा शिवाकोटी

हिमाल प्रेस २९ असार २०८२ १७:२१ | Sunday, July 13, 2025
‘माग्ने राजा’ ले राजनीतिसहित परिवार र प्रेमकाे कथालाई पनि उठाएको छ : वर्षा शिवाकोटी

काठमाडौँ- ‘नाइँ नभन्नू ल २’ बाट नेपाली अभिनयमा होमिएकी अभिनेत्री वर्षा शिवाकोटीको फिल्मी करियर यतिबेला उत्कर्षमा छ। उनी एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन्। सफलताको खुड्किला चढिरहेकी वर्षाको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ मा प्रदर्शन हुँदैछ।

उनी फिल्ममा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को जोडीका रुपमा देखिँदैछिन्। ‘मलाई फिल्ममा प्रस्ताव आउनासाथ मैले काम गर्न सहमत जनाएँ। मलाई राम्रो टिमको लोभ थियो। केदार दाईसँग मैले ‘छक्का पन्जा ५’ मा सहकार्य गरिसकेकाले पनि यो फिल्ममा काम गर्न राजी भएँ’, उनले भनिन्।

कलाकार केदार पहिलोपटक ‘माग्ने राजा’ मा प्रमुख भूमिकामा रहेकाले पनि आफू थप उत्साहित रहेको उनले खुलाइन्। उनले निर्देशक ऋषि लामिछाने र लेखक सामिप्यराज तिमल्सेनाको स्क्रिप्टमा बनेको फिल्म फरक स्वादको हुने भएर पनि सहकार्य गरेको बताइन्। उनले सुरुमा फिल्मको नाम सुन्दा रोचक लागेको बताइन्। माग्ने भन्नासाथ दिमागमा धेरै कुरा आउने भएकाले ती आएका कुरालाई एउटै चरित्रले ‘पोट्रे’ गर्ने उनको भनाइ छ।

सधैं गरिरहेको क्यारेक्टर भन्दा ‘माग्ने राजा’मा आफू फरक देखिएको वर्षाको दाबी छ। ‘मेरो जुन क्यारेक्टर भन्नुभएको छ, त्यसमा उहाँहरुले न्यारेट गरेजस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो। तर उहाँहरुको सोचाई अनुसार नै काम गरेकी छु,’ वर्षा भनिन्,‘फिल्मको कथावस्तु नै फरक छ। अहिलेको वर्तमान अवस्थालाई पनि चित्रण गरेको छ। फिल्मले सबै वर्गलाई प्रतिनिधित्व गर्छ। अहिलेको राजनीतिक अवस्था, साथी, परिवार र प्रेमिकाको कुरालाई बलियो गरी प्रस्तत गरेको छ।’

उनी फिल्म दर्शकले मन पराउँनेछन् भन्नेमा ढुक्क छिन्। ‘टिम र स्क्रिप्ट राम्रो भएर पनि हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि हुन्छ। हामीले लामो समयदेखि व्यावसायिक रुपमा काम गरिरहेको हिसाब पनि सोच्नुपर्ने हुन्छ’, उनले भनिन्। अहिलेसम्म काम गरेको फिल्ममध्ये ‘छक्का पन्जा ५’ बाट राम्रो प्रतिक्रिया पाएको र त्यही अपेक्षा ‘माग्ने राजा’ पनि आउनेमा उनी विश्वस्त छिन्।

‘मैले अहिलेसम्म काम गरेका फिल्ममध्ये अलिकित बढी एप्रिसियट पाएको ‘छक्का पन्जा ५’ बाटै हो। किनभने त्यो लेभलको सपोर्ट अहिलेसम्म मैले पाएको थिइनँ। राम्रो काम गर्नुहुँदो रहेछ है भनेर रेस्पोन्स आएको ‘छक्का पन्जा ५’ हो । ‘माग्ने राजा’मा पक्कै पनि त्यो भन्दा मैले केही फरक गरेको छु जस्तो लाग्छ,’ उनले भनिन्।

प्रकाशित: २९ असार २०८२ १७:२१ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast